
धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नं १० मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत १४८ जना बालबालिकालाई विद्यालय पोशाक, झोला, र शैक्षिक सामग्री वितरण गरिएको छ ।
शैक्षिक सामग्रीको अभावका कारण विद्यालयमा नियमित जान नसकिरहेका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न यो सहयोग प्रदान गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनुभयो ।“शिक्षामा पहुँच सुनिश्चितता परियोजना” अन्तर्गत प्रदान गरिएको यो सहयोगले बालबालिकालाई विद्यालय जान प्रेरित गर्नका साथै उनीहरूको पठनपाठनलाई थप सहज बनाउन मत पुग्ने उहाँले बताउनुभयो ।
यस अघि पालिकाको वडा नं ६, ८, र १० का विभिन्न विद्यालयमा १ हजार १ सय ५ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग प्रदान गरिएको छ । बालबालिकाको भविष्य उज्यालो बनाउन प्रयास नेपाल धादिङ निरन्तर क्रियाशील रहेको पनि अर्यालले बताउनुभयो । शैक्षिक सामाग्री वितरण कार्यक्रममा प्रयास नेपाल धादिङका अध्यक्ष वीर बहादुर श्रेष्ठ, कार्यकारी निर्देशक दामोदर अर्याल, चाइल्ड फण्ड जापानका एरिया म्यानेजर दल बहादुर सुनार, डिएस अफिसर श्रीकान्त लुइँटेल, र राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश अर्याल लगायतको उपस्थिति रहेको थियो ।
शैक्षिक सामग्रीको उपलब्धताले बालबालिकाको पढाइमा सहजता ल्याउने र विद्यालय प्रतिको आकर्षण बढ्ने विद्यालयका प्रधानाध्यापक गणेश अर्यालले बताउनुभयो । “बालबालिकाले पढ्न र सिक्न चाहन्छन् तर, शैक्षिक सामग्रीको अभावले उनीहरूको यो चाहना धेरैपटक अधुरो रहेको अवस्थामा गरिएको यो सहयोगले उनीहरूको पढाइलाई निरन्तरता दिन ठूलो सहयोग पु¥याउनेछ,उहाँले भन्नुभयो ।
बालबालिकाहरूको उज्ज्वल भविष्य निर्माणका लागि यस प्रकारका सहयोग कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रयास नेपालका अध्यक्ष वीर बहादुर श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभयो । शैक्षिक सामग्री वितरणको क्रममा बालबालिकाको उत्साह र खुशी देखेर आफूहरू अझ बढी प्रेरित भएको अध्यक्ष श्रेष्ठको भनाई थियो । बालबालिकाको शिक्षा, बाल अधिकार र समग्र विकासमा प्रयास नेपाल, धादिङले महत्वपूर्ण योगदान दिँदै आइरहेको प्रयास नेपाल धादिङका फिल्ड कार्यक्रम अधिकृत सुरज श्रेष्ठले जानकारी दिनुभयो ।