माघ १२
इजरायल — सन् २०२३ अक्टोबर ७ तारिकदेखि इजरायल र यसको छिमेकी अरब राष्ट्र सहित हमास समर्थीत विभिन्न लडाकु समूह र संङगठनहरुको आक्रमणबाट सिङ्गो इजरायल र इजरायलबासी नागरीकहरु त्राहिमाम रहेका छन् । इजरायलको कुन ठाउँमा कतिखेर रकेट र मिसाइलबाट आक्रमण हुन्छ थाहा हुदैन । यद्यपी बाह्य आक्रमण पश्चात निश्चित ठाउँमा रकेट र मिसाइल पुग्नु केहि मिनेट अघि भने साईरन बज्ने प्रविधि र सिस्टम छ । यहि साईरन बज्ने सिस्टमको सहायताले याहाँँका आम नागरिक त्यो समयभित्र आ– आफ्नो घर, कार्यालय र सार्वजनिक स्थानमा रहेको सेल्टर – बंङ्करहरुमा आस्रय लिन्छन् । बंङ्करमा बस्दा आक्रमणबाट सुरक्षित हुन्छन् । यी र यस्तै आक्रमणहरुबाट बच्न इजरायल सरकारले प्रत्येक सार्वजनिक स्थल र घरहरुमा बंङ्कर सहितको संरचना निर्माण गरेका छन् । ठूला – ठूला आक्रमणबाट बच्न भने इजरायली डिफेन्स फोर्सले एन्टी आईरन ड्रम सिस्टमको प्रयोगबाट आकाशमा नै डिस्पोज गरी संवाभित ठूलो जन धनको क्षतिबाट देश र जनतालाइ जोगाएका छन् । इजरायली सेनासँग बाह्य आक्रमण रोक्ने प्रतिरक्षा प्रणाली आधुनिक र सक्षम छ । इजरायल सरकारले हरेक नागरिकलाइ अनिवार्य रुपमा २ वर्षको सैनिक तालिम पनि दिने गर्दछन् । यदि बंङ्कर नभएको भए इजरायलका धेरै नागरिकले ज्यान गुमाउनु पर्ने थियो ।

सन् १९४७ – १९४८ को अरब–इजरायली युद्ध पछि सन् १९४८ मा इजरायल स्वतन्त्रताको घोषणा भयो । त्यसपछि मध्य पूर्वका अन्य भागहरूबाट यहूदीहरु आफ्नो देश फर्कियो । पुनः २० औं शताब्दीको उत्तरार्धमा इजरायल र यसको छिमेकी अरब राष्ट्रहरू बीचमा थप द्वन्द्व सुरु भयो । सन् १९६७ मा ६ दिनको युद्ध भयो । यी देशहरुको बीचमा समय – समयमा द्धन्दहरु भईनै रह्यो । पछिल्लो समय सन् २०२३ अक्टोबर ७ तारिकमा प्यालेस्टिन समर्थीत विद्रोहि समूह हमासको आक्रमबाट १ हजार ३०० जना इजरायली नागरिकको मृत्यु भएको इजरायली अधिकारीद्धारा पुष्टि गरेका छन् । युद्धको क्रममा धेरै संख्यामा इजरायली डिफेन्स फोर्स र नागरिकको मृत्यु भएको छ । आक्रमणसँगै हमासले करिब २५० जना इजरायली र एक नेपाली सहित केहि विदेशी नागरीकलाइ पनि बन्धक बनाएको थियो । जस मध्ये करिब १०० जनालाइ गत नोभेम्बरमा भएको एक हप्ताको युद्धविरामको क्रममा रिहा गरिएको थियो । इजरायलले अझै पनि करिब १५० जना भन्दा बढि मानिस हमासको नियन्त्रणमा रहेको र केहिको मृत्यु भएको अनुमान गरेका छन् । यता इजरायलले अक्टोबर ७ पछि हमास विरुद्ध गरेको जवाफी कारबाहीमा हाल सम्म ४७ हजार भन्दा बढि प्यालेस्टिनीहरुको मृत्यु भएको र ८० हजार भन्दा बढि घाइते भएको त्याहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसै बीचमा गत हप्ता कतार, इजिप्ट र अमेरिकाको मध्यस्थतामा इजरायल र हमासबीच १५ महिनादेखि जारी युद्ध रोक्ने सहमति भएको छ । सहमतिअनुसार हमासको तर्फबाट ३३ जना इजरायली बन्धक रिहाइ गरे बापत इजरायलको तर्फबाट भने २ हजार जना प्यालेस्टिनीलाइ रिहाइ गर्नुपर्ने, इजरायली सेनाले गाजा भित्रको ७ सय मिटर क्षेत्र छोड्नु पर्ने , घाइतेहरुको उपचारको व्यावस्था सहज बनाउनुपर्ने, एक हप्ताको लागि इजिप्ट जाने रफा बोर्डर खुल्ला गर्नुपर्ने, युद्धका कारण क्षति भएका भौतिक संरचना पुनः निर्माणको लागि सहयोग गर्नुपर्ने लगाएतका बुँदाहरुमा सहमति भएको छ । यो सम्झौतालाइ विश्व समुदायले अत्यान्तै महत्वका साथ हेरिरहेका छन् । समम्झौताको पहिलो चरणमा यो समाचार तयार पार्दा सम्म हमासको तर्फबाट ७ जना इजरायली बन्दि र इजरायलको तर्फबाट २ सय जना प्यालेस्टिनीलाइ रिहाइ गरिएको छ ।

प्यालेस्टिन समर्थीत विद्रोहि समूह हमास र इजरायल बीचको युद्ध जारी रहेकै समयमा यसको प्रभाव इजरायलको अन्य छिमेकी राष्ट्रहरुमा पनि प्रत्यक्ष पर्न गयो । विशेष गरि हमास समर्थीत सिरिया, इरान, लेवनानसँगको सम्बन्ध बिग्रनुका साथै इरान र लेवनानसँग दोहोरो युद्धको अवस्था नै सृजना भयो । लेवनान समर्थीत हिजबुल्ला र इजरायल बीचको युद्ध पनि अहिले रोकिएको छ । युद्धविराम भएसँगै युद्धबाट प्रभावित देशका नागरीकहरु खुशी र उत्साहित भएका छन् । यसका साथै सम्झौताको सहज कार्यान्वयनमा भने अझै संका रहेको खबरहरु पनि आइरहेका छन् ।

Facebook Comments