
असोज २०, धादिङ
पप्पु कन्सट्रक्सन निर्माण कम्पनीका पूर्वअध्यक्ष एवंम प्रतिनिधिसभाका सांसद हरिनारायण प्रसाद रौनियार निलम्बनमा परेका छन् । रौनियारविरुद्ध बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई नदीमाथिको पुल निर्माणमा अनियमिता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँविरुद्ध विशेष अदालतमा हिजो मुद्दा दर्ता गरिएको हो । मुद्धा दर्तासँगै सांसद रौनियार स्वतः निलम्बनमा पर्नुभएको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ । रौनियार सङ्घीय समाजवादी फोरम नेपालका तर्फबाट प्रतिनिधिसभामा पर्सा क्षेत्र नं ३ बाट विजयी हुनुभएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ ले सार्वजनिक पद धारणा गरेका व्यक्तिविरुद्ध भ्रष्टाचारसम्बन्धी दायर भएर मुद्दाको किनारा नलागेसम्म स्वतः निलम्बित हुने व्यवस्था गरेको छ । ऐन अनुसार त्यसरी निलम्बनमा रहेको व्यक्तिले कुनै पनि सरकारी कार्यालय वा सार्वजनिक संस्थामा नेपाल सरकारलाई कुनै किसिमले प्राप्त ऋण वा अनुदान रकमा व्ययभार पर्ने पदमा कुनै पनि किसिमले नियुक्त भई काम गर्न नपाउने व्यावस्था रहेको छ ।