
असोज १९, काठमाडौं
आज काठमाडौंमा आयोजित वातावरण सम्मेलन कार्यक्रमलाइ सम्बोधन गर्दै राष्ट्रपति विद्या भण्डारीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाइ साकार पार्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक कार्ययोजना बनाउन सरकारलाई सुझाव दिनुभएको छ । राष्ट्रपति भण्डारीले स्वच्छ वातावरण निर्माणमा सबै नागरिकले विशेष ध्यान दिनुपर्नेमा पनि जोड दिनुभयो । वातावरण प्रदूषण हुन नदिन र जलवायु परिवर्तनको प्रभावलाई न्यूनिकरण गर्दै लैजान तीन वटै तहका सरकारले मिलेर काम गर्नु पर्ने पनि स्पष्ट पार्नुभयो ।
साथै कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण विनाशलाई रोक्न प्रभावकारी कदम चाल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जलवायु परिवर्तनले जनजीवनमा पारेको प्रभाव र असरलाइ रोक्न सरकार लागि पर्ने पनि बताउनुभयो । मन्त्री बस्नेतले वातावरण सम्मेलनले स्वच्छ वातावरण निर्माणका लागि ठोस धारणा तय गर्न सघाउ र्पुयाउने विश्वास पनि व्यक्त गर्नुभएको थियो ।