असोज २१,काठमाडौ
आज मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा भएको आइसिसी टी–२० विश्व कप क्रिकेट प्रतियोगिताको एशिया छनोट ‘बी’ अन्तर्गत नेपालले थाइल्याण्डलाई १४० रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारीत २० ओभरको खेलमा सात विकेटको क्षतिमा १७२ रन बनाएको थियो । १ सय ७३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले ८ दशमलव ५ ओभरमा नौ विकेट गुमाउँदै १८ रन जोडेको थियो । वर्षाका कारण खेल रोकिएपछि डिएल नियमका आधारमा नेपाललाई विजयी घोषणा गरिएको हो । नेपालका लागि करन केसीले अविजित ४०, शरद भेषावकरले ३४, दीपेन्द्रसिंह ऐरीले ३०, अनिल शाहले २५ र विनोद भण्डारीले १५ रन जोडेको थियो ।

थाइल्याण्डलाई सस्तोमा रोक्ने क्रममा सन्दीप लामिछानेले सर्वाधिक पाँच विकेट लिएको थियो । उनले तीन ओभरमा एक मेडन राख्दै आठ रन खर्चे । खेलका म्यान अफ द म्याच करण केसीले एक दशमलव पाँच ओभरमा दुई रन खर्चेर तीन विकेट लिए । ललितनारायण राजवंशीले एक विकेट लिए । नेपाल आज सहित तीन खेलमा विजयी हुँदै ६ अङ्कका साथ शिर्ष स्थानमा उक्लिएको छ । साथै भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि अहिले नेपाल र बङ्गलादेश बिचको खेल जारी रहेको छ । भूटानको थिम्पुस्थित चाङलिमिथाङ रङ्गशालामा फाइनल खेल भइरहेको हो ।

Facebook Comments