धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ सांकोष स्थित पशुपती माध्यमिक विद्यालयमा सञ्चालन भएको ३ दिने हस्त लेखन तालिम आज सकिएको छ । शिक्षा क्षेत्रमा सशक्त भूमिका निर्वाह गर्दै आइरहेको लायन्स क्लब अफ धादिङ नीलकण्ठको आयोजनामा तथा पशुपति माध्यमिक विद्यालयको व्यवस्थापनमा तालिम सम्पन्न भएको हो । तालिममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागीता रहेको थियो । क्लवका अध्यक्ष नाराणकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नंवर १२ का वडा अध्यक्ष धर्मराज भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडा अध्यक्ष एवंम प्रमुख अतिथि भण्डारीले यस्ता कार्यक्रमहरूले स्थानीय तहमा शिक्षा सुधारमा सकारात्मक असर पार्ने बताउँदै लायन्स क्लबको क्रियाशीलता र प्रतिबद्धतालाई धन्यवाद दिनुभयो । “स्थानीय विद्यालयमा यति महत्वपूर्ण तालिम सञ्चालन गर्नु क्लबको सामाजिक उत्तरदायित्वप्रति जागरूकता र शिक्षा प्रतिको समर्पणको स्पष्ट उदाहरण भएको उहाँले बतानुभयो । यस्तै क्लबप्रति आभार व्यक्त गर्दै विद्यालयका प्रधानाध्यापक नारायण भण्डारीले शिक्षा क्षेत्रमा टेवा पु¥याउने यस्ता कार्यक्रमले विद्यालयलाई मात्र होइन, विद्यार्थीको भविष्यलाई समेत दिशा निर्देशन गर्ने उहाँको भनाई थियो ।

कार्यक्रमकै अवसरमा क्लवका उपाध्यक्ष पोषनाथ अधिकारीले लायन्स क्लबको उद्देश्य, विश्वव्यापी सेवा अभियान, र समुदायमा शिक्षा, स्वास्थ्य तथा सामाजिक चेतनाका क्षेत्रमा निरन्तर भइरहेको योगदानबारे स्पष्ट पार्नुभएको थियो । लायन्स क्लब एक अन्तर्राष्ट्रिय सेवा संस्था भएको र हामी सेवा गर्छौं भन्ने मूल मन्त्रका साथ विश्वभर लाखौं स्वयंसेवक मार्फत समाज सेवामा समर्पित रहेको उल्लेख गर्दै नेपालमा पनि यस क्लबको विभिन्न शाखाहरूले शिक्षा, स्वास्थ्य, दृष्टि सुधार, वातावरण संरक्षण, युवा विकास लगायतका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको उल्लेख गर्नु भयो ।
लायन्स क्लव आफ धादिङ नीलकण्ठले रक्तदान, आँखा परीक्षण, शिक्षा सामग्री वितरण, वृक्षारोपण, नेतृत्व विकास तालिम लगायतका सामाजिक सेवाका कार्यक्रमहरु गर्दै आएको छ ।

Facebook Comments