असोज ७
इजरायल – आगामी अक्टोबर १७ र १८ तारिखमा आठौं बलिहाङ कप – २०२५ फुटबल प्रतियोगिता हुने भएको छ । “एकता र मीत्रताको लागि खेलकुद” भन्ने मुल नारा सहित आयोजना गरिएको प्रतियोगितामा इजरायलमा रहेका ९ वटा फुटबल क्लबको सहभागिता रहने आयोजक संस्था किरात याक्थुङ चुम्लुङ इजरायलले जनाएको छ । प्रतियोगिता ९ ए साईड र नकआउट सिस्टममा खेलाईनेछ । प्रतियोगिता इजरायलको मुख्य शहर तेलअभिवमा हुने आयोजक संस्थाले गत शुक्रबार तेलअभिवमा आयोजित पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको विषयमा जानकारी गराएको थियो । सन् २०१६ देखि लिम्बु समुदायको मौलिक पर्व बलिहाङ तङ्नामको अबसरमा बलिहाङ कप प्रतियोगिता सुरु गरिएको हो ।

यस प्रतियोगितामा सहभागी ९ वटा फुटबल क्लबहरुमा केवाइसी फुटबल क्लब, झापा फुटबल क्लब, राइजिङ स्टार फुटबल क्लब, यूनाईटेड दार्जलिङ फुटबल क्लब, लायोन तेलअभिव फुटबल क्लब, कायापलट फुटबल क्लब, हाईफा इजरायल फुटबल क्लब, मनिपुर गोर्खा फुटबल क्लब, युनाईटेड रेहोभोट फुटबल क्लब रहेका छन् ।

किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा सम्पन्न हुने आठौं बालिहाङ कप – २०२५ फुटबल प्रतियोगितामा विजेता हुने टीमलाइ नगद १० हजार सेक्केल नगद र उप– विजेता हुने टिमलाइ ५ हजार सेक्केल नगद सहित ट्रफी, शिल्ड, मेडल, र प्रमाण–पत्रले सम्मान गर्ने आयोजकले जनाएको छ । साथमा प्रतियोगितामा सहभागी वेष्ट प्लेयर, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, धेरै गोल गर्ने खेलाडीहरुलाइ क्रमश प्रमाण–पत्र, कप, मेडल र नगदले सम्मान सहित पुरस्कृत गर्ने आयोजक संस्थाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

अघिल्लो वर्ष अक्टोबर मा सम्पन्न सातौं बलिहाङ कप – २०२४ फुटबल प्रतियोगिताको विजेता राइजिङ स्टार फुटबल क्लब, इजरायल भएको थियो । भने उप–विजेता मनिपुर गोर्खा फुटबल क्लब भएको थियो । आयोजक संस्था एवं क्लब केवाइसी फुटबल क्लवले भने यस अघि सम्पन्न प्रतियोगितामा ५ पटक बलिहाङ कपको उपाधि जितेको थियो ।

नेपाली र नेपालीभाषी समुदायहरुबीच खेलकुदको माध्यमबाट आपसी एकता र सद्भाव कायम गर्ने उदेश्य सहित आगामी अक्टोबर १७ र १८ मा हुने आठौं बलिहाङ कप – २०२५ प्रतियोगितामा इजरायलमा रहेका विभिन्न फुटबल क्लव र फुटबल प्रेमीहरुको सक्रिय सहभागिता रहने आयोजकले जनाएको छ । किरात याक्थुङ चुम्लुङ इजरायलले आफ्नो स्थापनाकालदेखि खेलकुदका साथै विभिन्न सामाजिक र रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।

Facebook Comments