२१ असोज
इजरायल – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) इजरायलको आयोजनामा जेनजी आन्दोलनबाट क्षतिग्रस्त भौतिक संरचना पुन : निर्माणको लागि सहयोगार्थ तिहार विशेष साँस्कृतिक साँझ – २०८२ हुने भएको छ । कार्यक्रम १७ अक्टोबर शुक्रबार साँझ तेलअभिव स्थित Zoa House, Daniel Frisch Street- 1 मा हुने एनआरएनए इजरायलले जनाएको छ ।
तिहार विशेष साँस्कृतिक साँझ – २०८२ मा नेपाली सांगितिक क्षेत्रका बहुचर्चित गायक शिव परियार, गायक हिमाल राना, सुमित रसाइली लगायतका कलाकारहरुको विशेष सांगितिक प्रस्तुति रहने छ । कार्यक्रममा सहभागीताको लागि प्रवेश शुल्क १ सय ५० सेक्केल निर्धारण गरिएको छ ।

यस कार्यक्रमको मुख्य उदेश्य विशेष गरि नेपाली समुदायको महान तथा राष्ट्रिय पर्वहरु दशैं, तिहार, छठ र नेपाल संवतको अवसरमा इजरायलमा रहेका नेपाली तथा नेपाली भाषी समुदायहरुको बीचमा शुभकामना आदान – प्रदान सहित खुशी, मनोरञ्जन र सद्भाव कायम गर्ने रहेको छ । यसका साथै कार्यक्रमबाट बचत भएको रकम नेपालको एैतिहासिक र महत्वपूर्ण भौतिक संरचना निर्माण तथा पुन : निर्माणको लागि नेपाल सरकारले स्थापना गरेको पुन : निर्माण कोषमा आर्थिक सहायता गर्ने आयोजकले जनाएको छ ।
आयोजक संस्था एनआरएनए इजरायलले यो सांगितक एवं पुण्य कार्यक्रममा हातेमालो सहित उपस्थिति लागि इजरायलमा स्थापित विभिन्न सामाजिक संघ – संस्था र इजरायलमा रहेका सम्पूर्ण नेपाली तथा नेपालीभाषीहरुलाइ हार्दिक निमन्त्रणा सहित सार्वजनिक अपिल गरेको छ ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलले मातृभूमी नेपालमा विभिन्न समयमा आइपर्ने प्राकृतिक तथा राष्ट्रिय विपत्तिहरुमा विभिन्न किसिमका साथ र सहयोगहरु गर्दै आइरहेको छ ।