
प्रतिनिधि सभा सदस्यमा धादिङ–२ बाट निर्वाचित बोध नारायण श्रेष्ठले धादिङका गुरुङ समुदायलाई ग्रामीण पर्यटनसँग जोडेर गुरुङहरुकोे आयस्तर वृद्धि गर्ने गरी काम गर्ने बताउनुभएको छ । धादिङका गुरुङ समुदायले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले गुरुङ बस्ती, संस्कार र संस्कृतिलाई समेटेर ग्रामीण पर्यटन सर्किट विकास गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले धादिङबेसी, पात्ले, जुरेथुम, नीलकण्ठ नगरपालिका–९ को काफलपानी हुँदै ज्वालामुखी गाउँपालिकाका विभिन्न स्थानलाई समेटेर पर्यटन सर्किट बनाउन सकेमा धादिङमा पर्यटन प्रवद्र्धनका साथै स्थानीयको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो ।सांसद श्रेष्ठले गुरुङ समुदाय आफ्नो मौलिक संस्कार, संस्कृति, भाषा, भेषभूषा र परम्पराका कारण नेपालकै समृद्ध समुदायमध्ये एक रहेको उल्लेख गर्नुभयो ।
गुरुङ समुदायको मौलिक पहिचान झल्काउने संस्कृति, परम्परागत नृत्य, पर्व–उत्सव, पहिरन र जीवनशैली नै पर्यटनको महत्वपूर्ण आधार बन्न सक्ने उहाँको भनाइ थियो । “गुरुङ समुदाय संस्कार र संस्कृतिमा निकै धनी छ, यसको संरक्षण र प्रवद्र्धन गर्न सके धादिङलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिन्छ,” उहाँले भन्नुभयो । आफुले २० वर्षे धादिङ नितिको खाका कोरेकोले गुरुङ लगायतका आदिवासी जनजाति समुदायलाई माथि उकास्न ग्रामिण पर्यटनलाई प्राथमिकता दिएर अघि बढ्ने बताउनुभयो ।

उहाँले गुरुङ समुदायको मौलिक संस्कृतिलाई जगेर्ना गर्दै पर्यटनसँग जोड्न सके गाउँमै रोजगारी सिर्जना हुने र युवाहरू विदेशिनु पर्ने अवस्था पनि कम हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । यसका लागि आवश्यक नीति तथा कार्यक्रम निर्माण गर्न आफू सक्रिय रहने प्रतिवद्धता पनि सांसद श्रेष्ठले व्यक्त गर्नुभयो । सांसद श्रेष्ठले धादिङलाई दीर्घकालीन योजना सहित विकास गर्ने लक्ष्य राखिएको उल्लेख गर्दै ग्रामीण पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । गुरुङ बस्तीहरूमा होमस्टे, सांस्कृतिक कार्यक्रम, स्थानीय खानाका परिकार, परम्परागत भेषभूषा तथा सांस्कृतिक सम्पदालाई समेटेर पर्यटन विकास गरिने बताउनुभयोे ।
कार्यक्रममा तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रिय समितिका निर्देशन तथा अनुगमन समिति सदस्य गणेश बहादुर गुरुङ, तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङ उपाध्यक्ष श्याबहादुर गुरुङ, धादिङबेसी तमू समाजका सचिव सोमबहादुर गुरुङ लगायतले गुरुङ समुदायका अगुवाहरूले पनि गुरुङ संस्कार, संस्कृति, भाषा, भेषभूषा र परम्परागत जीवनशैलीको संरक्षण गर्दै पर्यटनसँग जोड्न सके धादिङलाई नयाँ पर्यटन गन्तव्यका रूपमा विकास गर्न पहल गर्न आग्रह गरेका थिए ।
यस्तै नेपाल तमू गुरुङ विद्यार्थी छोंज धींका केन्द्रिय महासचिव अनिल गुरुङले संघियता खारेजीको हल्लाहरु बाहिर आएकोले संघियता खारेजीले गुरुङहरुको हक अधिकार पहिचानका मुद्धाहरु ओझेलमा पर्ने होकी भन्दै गुनासो पोख्नुभयो । गुरुङहरुको पहिचनालाई जिवित राख्न संघियताले केहि हद सम्म भुमिका खेलेकोले गुरुङहरुको हक अधिकारको ख्याल राख्दै काम गर्न उहाँले सुझाव दिनुभयो ।
यस्तै कार्यक्रमकै अवसरमा रास्वपा धादिङको च्ब्त् विभाग प्रमुख दिपक अधिकारीले गुरुङ समुदायसँगै रहेर काम गर्ने र सँगै खबरदारी गर्दै अघि बढ्ने बताउनुभयो । उक्त अवसरमा नवनिर्वाचित सांसद श्रेष्ठलाई गुरुङ समुदायले बधाई तथा सम्मान गर्दै आगामी दिनमा समुदायको विकास, संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनमा सहकार्य गर्न आग्रह गरेका थिए । तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङ, तमूस्यो ह्यूल छोंज धीं धादिङ, तमू विद्यार्थी छोंज धीं धादिङ र धादिङबेसी तमू समाज धादिङले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सांसद श्रेष्ठलाई गुरुङहरुको पोशाक भाङ्ग्रा र फेटा लगाएर सम्मान गरिएको थियो ।