नीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङले सांस्कृतिक विविधता प्रर्वद्धनमा प्रसंशनिय भूमिका खेलेको भन्दै तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङलाई सम्मान गरेको छ । आज शनिबार सदरमुकाम धादिङबेसीमा सम्पन्न भएको सांस्कृतिक विमर्श तथा विशेष सम्मान समर्पण समारोहको अवसरमा धादिङ प्रज्ञा सम्मान–२०८३ बाट तमू ह्यूल छोंज धी गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङलाई सम्मान गरेको हो ।

प्रतिष्ठानले नगद २० हजार ८१ नगद सहित सम्मान पत्र र दोसल्लाले संस्थाका उपाध्यक्ष श्याम बहादुर गुरुङ, तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङका पदाधिकारी तथा नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं धादिङको पदाधिकारी समेतको उपस्थितिमा सम्मान गरेको हो ।

सम्मान ग्रहण गर्दै तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङका उपाध्यक्ष श्यामबहादुर गुरुङले नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले प्रदान गरेको सम्मानले गुरुङ समुदायको भाषा, कला, संस्कार, संस्कृति तथा मौलिक पहिचानको संरक्षण र प्रवद्र्धनमा लाग्न थप प्रेरणा र हौसला मिलेको बताउनुभयो। उहाँले भन्नुभयो, “यो सम्मान केवल हाम्रो संस्थाको मात्र नभई सम्पूर्ण गुरुङ समुदायको सम्मान हो। हामीले वर्षौंदेखि आफ्नो भाषा, भेषभूषा, परम्परा, संस्कार तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि निरन्तर प्रयास गर्दै आएका छौं।

नीलकण्ठ प्रज्ञा प्रतिष्ठानबाट प्राप्त यो सम्मानले हाम्रो जिम्मेवारी अझ बढाएको छ र आगामी दिनमा समुदायको मौलिक पहिचान जोगाउन थप सक्रियताका साथ लाग्न प्रेरित गरेको छ।” उहाँले जिल्लामा रहेका विभिन्न जातजाति, भाषा तथा संस्कृतिबीच आपसी सद्भाव, सहअस्तित्व र सांस्कृतिक विविधताको संरक्षणमा सबै पक्षले साझा प्रयास गर्नुपर्नेमा जोड दिनुभयो। साथै, संस्कृति संरक्षणका क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्ने प्रतिष्ठानको कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै प्रतिष्ठानप्रति आभार व्यक्त गर्नुभयो।

यस्तै प्रतिष्ठानले साहित्यिक क्षेत्रमा अपुरणिय योगदान पु¥याएको भन्दै धादिङका मोति कवि स्वर्गिय डिल्लीरमण शर्मा अर्याललाई ललित प्रज्ञाश्री सम्मान–२०८३ बाट सम्मान गरिएको छ। उहाकोँ परिवारलाई नगद २० हजार ८३ रुपैयाँ सहित सम्मान पत्र प्रदान गरिएको हो ।

प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पु¥याउँदै आएको प्राज्ञिक व्यक्ती तथा संस्थाहरुलाई सम्मान गर्दै आएको छ । कार्यक्रममा सिंगो मगर समुदायको विषयमा एकु थापा मगर र तामाङ समुदायका विषयमा गोपाल फ्युवा तामाङले प्रस्तुती समेत राख्नुभएको थियो । भने गुरुङ समुदायको तर्फबाट तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङका उपाध्यक्ष श्यामबहादुर गुरुङले प्रस्तुती राख्नुभएको थियो ।

कार्यक्रममा गुरुङ महिलाहरुको घाटु नाच, शिक्षक उपेन्द्र लम्साल र एडभान्स एकेडेमिका भावना अर्यालले कविता वाचन गर्नुभएको थियो । नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्री प्रसाद दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रस्तुती राख्ने सम्पूर्ण प्रस्तुतीकर्ताहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

Facebook Comments