कात्तिक १६ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विजया दशमी, दीपावली, नेपाल संवत, छठलगायत पर्वका अवसरमा शुक्रबार चियापान कार्यक्रमको आयोजना गरेको छ । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करिब एक लाख व्यक्तित्वलाई निमन्त्रणा गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
कांग्रेसले शुक्रबार काठमाडौँ उपत्यकाको केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरेको जनाएको छ । विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि विसं २०३५ देखि प्रत्येक वर्ष कांग्रेसले जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ ।
कांग्रेसले यसवर्ष पनि निरन्तरता दिँदै आज दिउसो १ बजेदेखि साँझ ५ बजेसम्म केन्द्रीय कार्यालय ललितपुरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । हरेक वर्ष विजया दशमी कोजाग्रत पूर्णिमाका दिन आयोजना हुने कांग्रेसको चियापान कार्यक्रम यस वर्ष पार्टीका नेता चक्रप्रसाद बास्तोलाको निधनको १३औँ दिन नपुगेका कारण शुक्रबार सारिएको हो । काङ्ग्रेसले विसं २०७३ मा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधनको वार्षिकी भएकाले र विसं २०७४ मा निर्वाचनका कारण चियापान कार्यक्रम आयोजना गर्न सकेको थिएन ।