कात्तिक १६ ।
पोखरा पि्रमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा पोखरा पल्टनलाई २ विकेटले पराजित गर्दै एक्स्पर्ट धनगढी ब्लुज शीर्ष स्थानमा उक्लिएको छ ।
पोखराले दिएको १४५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभर सकिन १ बल बाँकी छदा ८ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
धनगढीका लागि अन्तिम समयमा कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै जित दिलाए । उनले २६ बलमा ४९ रन बनाए । ४ छक्का र ४ चौका प्रहार गरे । त्यस्तै, धनगढीका लागि पिटर टे्रगोले विष्फोटक ब्याटिङ गर्दै ५३ रन बनाए । उनले ३४ बलको सामना गर्दै ५ चौका र ४ छक्का प्रहार गरेका थिए । त्यस्तै, धनगढीका लागि शुभेन्दु पाण्डेले २२ रन बनाए ।
बलिङतर्फ पोखराका रासिद खानले ४ विकेट लिए । उनले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिएका हुन् । त्यस्तै, विक्रम भुसाल र ललितनारायण राजवंशीले समान २-२ विकेट लिए ।
पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा पल्टनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनाएपछि धनगढीले मध्यम स्कोरको लक्ष्य पाएको थियो ।
पोखराको लागि रोहितकुमार पौडेलले इनिङ्स उकास्न खोजेका थिए । उनले २१ बलमा ३१ रन बनाए । पोखराका लागि रविइन्दर सिंहले २८, आसिफ शेखले २३, रासिद खानले अविजित १५ र कप्तान शरद भेषवाकरले १४ न बनाए ।
४ रन हुदा पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको पोखराले ४८ रन हुदा दोस्रो विकेटको रुपमा रविइन्दरलाई गुमाएको थियो । तेस्रो विकेटको रुपमा ४८ रन हुदा नै मेहबुब आलम शुन्य रनमा आउट भएपछि पोखरा दबाबमा आएको थियो ।
एक्स्पर्ट धनगढीका लागि कमलसिंह ऐरीले ४ विकेट लिए ।
जितसँगै धनगढीले आफ्नो ५ खेल खेल्दै शीर्ष स्थानमा उक्लिएको छ भने प्ले अफमा पुग्ने सम्भावनालाई पनि बलियो बनाएको छ । तर धनगढीले प्ले अफमा पुग्नका लागि भने अन्य टिमको नतिजामा भर पर्नुपर्ने हुन्छ । यता, पोखराको पनि शीर्ष तीनमा पुग्ने सम्भावना कायमै रहेको छ ।
लिगको शीर्ष स्थानमा पुग्ने टिम फाइनलमा प्रवेश गर्ने छ भने दोस्रो र तेस्रोले प्ले अफ खेलेर फाइनल प्रवेश गर्ने छ ।