
कात्तिक २५,विशालटार ।
पृथ्वीलोकमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ विशालटार नजिकै आइतबार बिहान ग्यास बुलेटले ठक्कर दिदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने दुई जना आमा छोरी रहेको प्रहरीले जनाएको छ।
भारतको बरौलीदेखि काठमाडौँको बालाजु जाँदै गरेको युपी ७५ एजे ५२०८ नम्बरको एलपी ग्यासको बुलेट बाटोमा हिडिरहेका आमाछोरीलाई ठक्कर दिई आफै अनियन्त्रित भएर सडकबाट २० मिटर तल पल्टिएको हो । मृत्यु हुनेमा बेनिघाट रोराङ –५ का ३५ वर्षीय गीता नेपाली र उनका छोरी २१ वर्षीय सुनिता नेपाली रहेका छन् ।
दुर्घटनामा घाईते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो । गीताको शव गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र सुनिताको शव राजमार्ग अस्पताल मलेखुमा रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ। ग्याँस बुलेटका चालक भारत बस्ने २६ वर्षका भोला कुमार बेनिघाट प्रहरीको नियन्त्रणमा रहेको छ । ग्याँस बुलेट पल्टिएको ठाउँमा आगलागी हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै नेपाल प्रहरी, शसस्त्र प्रहरीको टोली तथा नीलकण्ठ नगरपालिकाको दमकल घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।