मंसिर १, कास्की
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सातवटै प्रदेशमा अन्र्तराष्ट्रिय स्तरको आधुनिक रङ्गशाला बनाउने योजना सहित नेपाल सरकार र खेलकुद मन्त्रालय लागेको बताउनुभएको छ । नेपाल भलिबल संघद्वारा हिजो कास्किमा आयोजित पाँचदिने प्रदेशस्तरीय राष्ट्रिय रेफ्री पुनर्ताजगी तालीमको समापन कार्यक्रममा बोल्दै उहाँले खेलकुद क्षेत्रमा नयाँ पुस्तालाई आकर्षित गर्दै अन्र्तराष्ट्रियस्तरका प्रतिभावान्, दक्ष खेलाडी उत्पादन गर्नका लागि आधुनिक रङ्गशालाको आवश्यकता रहेको बताउनुभयो । मन्त्री विश्वकर्माले रङ्गशाला निर्माणपछि खेलक्षेत्रले फड्को मार्ने विश्वास सहित देशका ७५३ वटै स्थानीय तहमा खेलमैदान बनाउन खेलकुद मन्त्रालयले प्रस्ताव तयार गरेको र छिट्टै मन्त्रिपरिषदबाट निर्णय गरि कार्यान्वयनको चरणमा लाग्ने पनि बताउनुभयो ।

खेलकुद जगतलाई व्यवस्थित, मर्यादित र समयसापेक्ष परिमार्जन सहित आधुनिक बनाउनेतर्फ मन्त्रालयले काम गरिरहेको बताउनुभयो । एक प्रसंगमा मन्त्री विश्वकर्माले केही व्यक्तिले राजनीतिक आवरणमा खेलक्षेत्रमा व्यक्तिगत स्वार्थ र अभीष्ट पूरा गर्न खोज्दा अहिले केहि समस्या आएको समेत बताउनुभयो । खेलकुद मन्त्री विश्वकर्माले तालीममा सहभागी १२ राष्ट्रिय रेफ्री र ४८ जना प्रदेशस्तरीय रेफ्रीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । तालिममा सहभागीलाई नेपाल भलिबल सघंका रेफ्री निर्देशक तथा अन्र्तराष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवाले प्रशिक्षण दिनुभएको थियो ।

Facebook Comments