
कात्तिक २१, धादिङ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । गठबन्धनले निर्वाचनपछि पार्टी एकीकरण गर्ने प्रतिबद्धतासहितको घोषणापत्र आज सार्वजनिक गर्न लागेको हो ।
घोषणापत्रमा तीव्र आर्थिक विकास र सामाजिक न्यायसहितको उच्चस्तरको समृद्धि हासिल गर्ने कार्यक्रम, मूल कार्यनीति र कार्ययोजना उल्लेख छ । घोषणापत्रमा देशको समृद्धि, समाजिक सुरक्षा, संविधान कार्यान्वयनलाई जोड दिइएको छ । ५ वर्षभित्र ठूला सहरमा मेट्रो र मोनो रेल, १० वर्षमा २० हजार मेगावाट बिजुली, घरघरमा बिजुली, जनजनमा सेयर, तीन वर्षमा उपत्यकामा विद्युतीय सवारीमात्र, चार बर्षभित्र काठमाडौं–तराई द्रुतमार्ग, तीन बर्षभित्र डुबान क्षेत्रमा चार लेनको आकासेमार्ग जस्ता महत्वकाक्षी योजना पनि राखिएको छ । संविधानसभाबाट जारी संविधानले नेपाललाई समाजवादउन्मुख राज्य घोषणा गरेको भन्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नेतृत्व नभएको भए यो असम्भवजस्तै रहेको घोषणापत्रमा दाबी छ ।
मंगलबार दिउँसो १ बजे राजधानीको एक पार्टी प्यालेसमा एमाले र माओवादी केन्द्रका अध्यक्षसहितका नेताहरुको सहभागितामा घोषणापत्र सार्वजनिक हुने ती दलले जनाएका छन् । गठबन्धनले काठमाडौं तराई–मधेस जोड्ने द्रुतमार्ग निर्माण गर्नेसहित रेलमार्ग, सडक पूर्वाधार, जलविद्युत् आयोजनालगायतका विकास निर्माणका आवधिक योजनासहित आफ्नोचुनावी प्रतिबद्धता तयार गरेका हुन् ।