माघ १२, धादिङ । प्रधानमन्त्री केपी शर्मा ओली स्वीजरल्याण्डको डावोसमा विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी भएर आज स्वदेश फर्कनुभएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत माघ ७ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डको डावोसमा आयोजित विश्व आर्थिक मञ्चको बैठकमा दुई वटा महत्त्वपूर्ण सत्रलाई सम्बोधन गर्नुभएको थियो । ‘दक्षिण एसियाको राजनीतिक परिदृश्य’ र ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयका दुई बेग्ला बेग्लै छलफलमा विभिन्न देशका नेतासँग सहभागी भएका प्रधानमन्त्री ओलीले नेपालले हासिल गरेको राजनीतिक स्थायित्व र नेपाल सरकारका सामाजिक, आर्थिक रुपान्तरणका प्राथमिकताबारे जानकारी दिनुभएको थियो । स्वीट्जरल्यान्ड भ्रमण क्रममा प्रधानमन्त्री ओलीले विभिन्न राष्ट्रका राष्ट्र प्रमुख,उच्चपदस्थ व्यक्तित्व तथा व्यवसायीसँग औपचारिक तथा अनौपचारिक रुपमा भेटवार्ता गर्नुभयो । भेटका क्रममा प्रधानमन्त्री ओलिले विश्व व्यापार, आर्थिक लगानी लगायतका दुईपक्षीय र बहुपक्षीय हितका विविध विषयमा छलफल गर्नुभएको थियो । साथै प्रधानमन्त्री ओलिले भ्रमण नेपाल र नेपाली जनताको हितका निम्ती अत्यान्तै महत्वपुर्ण र उपलब्धिमुलक भएको बताउनुभएको छ । सन् १९७४ देखि सुरु भएको विश्व आर्थिक मञ्चको डावोस बैठकमा नेपालको तर्फबाट यो पहिलो सहभागिता हो ।

Facebook Comments