आज १०९ औं अन्तराष्ट्रिय महिला दिवस । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तराष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले ¥याली, गोष्ठी तथा अन्तरक्रिया लगायतका कार्यक्रम आयोजना गरिरहेका छन् ।

नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध बुलन्द आवाज उद्घोष गरेको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । नारी दिवस हरेक वर्ष विश्वभरका महिलाले एउटा प्रथा परम्परा र चाडका रुपमा मनाउँदै आएका छन् ।

राष्ट्रपतिको शुभकामना
यसैबीच महिला दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट अग्रसर हुन सबैमा आग्रह गर्नुभएको छ ।

उहाँले सबै महिलाको हकअधिकार, समानता, सशक्तीकरण तथा मानव अधिकारप्रति पूर्ण समवेदनशील भइरहन प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ । यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्ने बताउनुभएको छ ।

१०९ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले महिला राजनीतिक, सामाजिक तथा आर्थिक रुपमा स्वतन्त्र र सशक्त नभएसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ सम्भव नभएको बताउनुभयो ।

प्रधानमन्त्रीको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले १०९ औँ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले महिलाको आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत् सारभूत समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले समानताको सोचलाई प्रवर्द्धन गर्दै महिलाको राजनीतिक, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न आफ्नो जीवनअर्पण गर्नुहुने सम्पूर्ण श्रद्धेय व्यक्तित्वको स्मरण गर्नुभएको छ । प्रधानमन्त्रीले शासकीय पद्धतिमा भएको परिवर्तनसँगै संघीय संरचनामा महिलाको प्रतिनिधित्वमा राजनीतिक, आर्थिक एवम् सामाजिक क्षेत्रमा उल्लेख्यरुपमा वृद्धि भएकामा खुशी व्यक्त गर्नुभएको छ ।

उहाँले आज पनि लैङ्गिक हिंसा तथा गरीबीको प्रभाव महिलामा बढी परेको र यस्तो अवस्थामा परिवर्तन गर्न आधा आकाश र आधा धर्ती ओगट्ने महिलाको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय सङ्कल्प साकार नहुने उल्लेख गर्नुभएको छ ।महिला सशक्तीकरणका लागि संघ, प्रदेश र स्थानीय तहले आआफ्नो स्थानबाट नयाँ सोचका साथ नीति योजना र कार्यक्रम तय गरी लागू गर्नेछन् भन्ने कुरामा आफू विश्वस्त रहेको सन्देशमा उल्लेख छ ।

यसैबीच सभामुख कृष्णबहादुर महराले लैङ्गिक समानताका लागि सबैको सोंच र व्यवहारमा पनि समानताको खाँचो औँल्याउनुभएको छ । महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै सभामुख महराले लैङ्गिक समानताका लागि राज्य तहबाटै प्रत्याभूत गर्ने गरी समान अवसर, समान सहभागिता र समान पहुँचको सुनिश्चित गरिनुपर्ने बताउनुभयो ।

यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिला हिंसाविरुद्ध नारी जागरण आवश्यक रहेको बताउनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले अन्तराष्ट्रिय नारी दिवसका अवसरमा एक शुभकामना सन्देश दिँदै नेपाली दिदीबहिनी शहरदेखि गाउँमा महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको बताउनुभएको छ ।

Facebook Comments