
फाल्गुन ३० ।
सिद्धलेक गाउँपालिकामा रहेको उपहार महिला कृषि सहकारी संस्थाका पदाधिकारीहरुको लागि ३ दिने सहकारी व्यवस्थापन सम्बन्धि कार्यशाला बिहिबार सम्पन्न भएको छ ।
सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्र्तगत महिला समुहमा आबद्ध महिलाहरुहरुद्धारा मात्र गठित उपहार महिला कृषि सहकारी संस्थाका अध्यक्षमा गीता सिलवालको अध्यक्षता तथा दिर्घराज सापकोटाको सहजिकरणमा संचालन भएको कार्यशालामा ग्रामीण विकासमा सहकारीबाट हुने फाईदा सहकारी अवधारणा र परिचय, नेपालमा सहकारी व्यावसायको सिद्धान्त र कानुनी वातावरण,साकोसमा विनियम, नीति तथा कार्य बिधिहरुको महत्व र निर्माणको दायित्व, सहकारीमा सदस्य, सदस्यको लागी योग्यता, सदस्यता प्रदान गर्ने बिधि र सदस्य अभिलेखको बारेमा कार्यशालामा छलफल गरिएको थियो ।
यसै गरी संचालक समिति,काम कर्तव्य र अधिकार, व्यावसायिक सहकारीमा योजना र योजनाको महत्व तथा निर्माणको जिम्मेवारी, सहकारीमा सुशासन कायम गर्न ध्यान दिनु पर्ने कुराहरु, सहकारीमा ऋण र ऋण परिचालन गर्दा ध्यान दिनु पर्ने कुराहरु, सहकारीमा ऋण व्यावस्थापन र लेखा व्यावस्थापनका महत्वपूर्ण पक्षहरु, प्रभावकारी बैठक संचालनका विधिहरु तथा अभिलेखिकरण बिषयमा प्रशिक्षक दिर्घराज सापकोटा सहजिकरण गर्नु भएको थियो ।
सहकारीका संचालक,बिभिन्न उपसमितिका सदस्यहरु र कर्मचारीहरु समेत गरी २८ जना सहभागीता रहेको कार्यशाला समापनको अवसरमा सिद्धलेक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण भट्टराई,हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम व्यवस्थापक प्रेम स्याम्बयु, प्रयास नेपाल धादिङ कार्यकारी निर्देशक दामोदर अर्यालले समूहमा आबद्ध संस्थाहरुको संस्थागत विकास तथा दिगोपनको लागि सहकारी गठन र क्षमता विकासमा सहयोग गरिएको बताउनु भयो ।
महिला सदस्यहरु बचत गरेका रकमहरुको सहि सदुपयोग गर्न र आय आर्जनका कार्यहरु गर्नको लागि गठित सहकारीहरुको क्षमता विकास र सदस्यहरुको लागि सहकारी शिक्षा कार्यक्रम मार्फत शेयर सदस्यहरुलाई सहकारीको आवश्यकता र महत्वका बारेमा समेत सहजिकरण गरिएको कार्यक्रम संयोजक ईश्वरी कोईरालाले बताउनु भयो । सहकारीमा ४३ वटा महिला समूहका १ हजार ४ सय जना आबद्धता गर्ने लक्ष्य अनुसार १ महिना भित्रमा सबै समूहमा १ दिने पूर्व सहकारी शिक्षा कार्यक्रम संचालन गरिने सहकारीका अध्यक्ष गीता सिलवालले जानकारी दिनु भयो ।