२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङको दुई गाउँपालिका विच विवादित हुआसिन सिमेन्ट उद्योगको अनुगमन

धादिङको दुई गाउँपालिका विच विवादित हुआसिन सिमेन्ट उद्योगको अनुगमन

विवादित हुआसिन सिमेन्ट उद्योगको अनुगमन गर्नुहुँदै संघिय संसदको सार्वजनिक लेखा समितिका सचिव रोजनाथ पाण्डे । तस्विर:- अर्जुन श्रेष्ठ

वैशाख २५, धादिङ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिकामा निर्माण हुँदै गरेको सिमेन्ट कारखानामा जाने सडकको विषयलाई लिएर विवाद चुलिएपछि संघीय संसदको सार्वजनिक लेखा समितिले छानविन शुरु गरेको छ । बेनिघाट रोराङ गाउँपालिकाको वडा नं. २ ताल्तीमा बन्न लागेको हुआसिन सिमेन्ट उद्योगको लागि बेनिघाट रोराङतर्फ मलेखु खोलाको बगरैबगर ११ किलोमीटर लिंकरोड जोड्न लागेपछि विवाद बठेको हो । सडक निर्माणको विषयमा गजुरी गाउँपालिकातर्फ खोला किनारका जग्गाधनीले विरोध जनाएका हुन् ।

बगरमा चौडा सडक निर्माणले खालाको वहाव परिवर्तन हुने र गजुरीतर्फका खेतीयोग्य जमिन बाढिले लैजाने भन्दै स्थानीयले विरोध गरेका छन् । सडक निर्माणको विषयमा विवाद बढेपछि गजुरीतर्फबाट संघिय संसदको सार्वजनिक लेखा समितिमा उजुरी परेको समितिका सचिव रोजनाथ पाण्डेले बताउनुभयो । यस विषयमा छानविन गर्न सार्वजनिक लेखा समितिले सांसद लेखराज भट्टको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । छानविन उपसमितिले विहिबार गजुरी र बेनिघाट रोराङ दुबैतर्फ र सिमेन्ट उद्योग निर्माण स्थलको अवलोकन गरेको छ । अवलोकनका क्रममा उपसमितिले दुबै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षहरु र स्थानीयबासीहरुको राय पनि संकलन गरेको छ ।

सडक निर्माणप्रति गजुरी गाउँपालिकाले समेत विरोध जनाएको छ भने बेनिघाट रोराङ गाउँपालिकाले समर्थन जनाएको छ । आफ्ना राय दिंदै गजुरी गाउँपालिका तर्फका बासिन्दाले सडकका कारण बाढीले गजुरी तर्फका बचेखुचेका करिब ५ हजार रोपनी खेतमा बाढी पस्ने खतरा रहेको बताए । गजुरी गाउँपालिकाले बगरमा सडक निर्माण गर्नुको साटो चेपाङ्गमार्गलाई थप चौडा गर्नु पर्ने माग गर्दै आएको छ भने बेनिघाटले खोला बगरबाट सडक सोझो पर्ने र राजमार्गमा निस्कन समयको पनि बचत हुने भएकोले बगरको सडक विकल्प नभएको दाबी गर्दै आएको छ । स्थानीयको विरोध कार्यक्रमप्रति ऐक्यबद्धता जनाउँदै गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले उद्योगका लागि निर्माण गरिएको सडकले पुर्यााउने क्षतिबारे आपत्ति जनाउनुभयो । अध्यक्ष बस्नेतले सडक निर्माण गर्दा गजुरीतर्फको अधिकांश खेतियोग्य जमिन खोलाको कटान हुने खतरा रहेकोले सच्याउन माग गर्नुभयो तर सिमेन्ट उद्योग स्थापनाको भने गजुरी गाउँपालिकाले विरोध नगरेको बताउनुभयो ।

निर्माणाधिन हुआसिन सिमेन्ट उद्योग । तस्विर:- अर्जुन श्रेष्ठ

हुआसिन सिमेन्ट प्रा.लि.ले मलेखु खोलाको अस्तित्व नै मेटाएर निर्माण गरिरहेको सडकले ठूलो धनजनको क्षति पु¥याउन सक्ने स्थानीयबासी बताउँछन् । छानविनपछि उपसमितिले प्रतिवेदन तयार गरी सार्वजनिक लेखा समितिको पूर्ण बैठकमा छलपल गर्ने निश्कर्ष निकाल्नेछ । यसका लागि विद्यमान ऐन कानूनको अध्ययन गर्ने, उद्योगले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन, बातावरणीय मूल्यांकन र स्थानीय सरोकारवालाहरुसंगको छलफल, मुचुल्का सबै विषयमा अध्ययन गरिने संयोजक सांसद भट्टले बताउनुभयो । अवलोकन टोलीमा उपसमितिका सदस्यहरु सांसदद्वय मिना सुब्बा र विशाल भट्टराईको पनि सहभागिता रहेको थियो । हुआसिन नारायणी सिमेन्ट प्रा.लि. को नाममा निर्माण भैरहेको सिमेन्ट उद्योगमा ८० प्रतिशत चिनियाँ लगानी र नेपाली उद्योगपति सुरज वैद्यको २० प्रतिशत सेयर रहेको छ । अबको ९ महिनामा दैनिक ६० हजार बोरा सिमन्ट उत्पादन गर्ने गरी कम्पनी निर्माण भइरहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।