
जेठ ३ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाले २६ औं मदन आश्रित स्मृति दिवस आज मनाउँदै छ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष एमालेले विभिन्न कार्यक्रम गर्दै आएकोमा गत वर्षदेखि एमाले र एमाओवादी एकीकरण भई बनेको नेकपाले मदन आश्रित स्मृति दिवस मनाउन थालेको हो ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाले धादिङ, रसुवा, नुवाकेट, गोरखा, चितवन, मकवानपुर लगायत धेरै जिल्लामा २६ औं मदन आश्रित स्मृति दिवस मनाउन लागेको छ । धदिङ आज मदनआश्रित स्मृति भवनमा नेकपाले विशेष कार्यक्रम आयोजना गरेको नेकपा धदिङका अध्यक्ष भुमि त्रिपाठीले बताउनु भयो । कार्यक्रममा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली लगायतका नेताहरुको सहभागित रहने पनि अध्यक्ष त्रिपाठीले बताउनुभयो ।
२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो । सो दिनको सम्झनामा नेकपाले जेठ ३ गते सो दिवस मनाउन लागेको हो । जिप त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा भने जीवित थिए । लामाको २०६० सालमा हत्या भएपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई अझै परिस्कृत गर्दै लैजानुपर्ने आवश्यकता रहेको कम्युनिस्ट नेताहरूले बताउँदै आएका छन् ।

उनीहरूले भण्डारीको जनताको बहुदलीय जनवाद अहिले पनि सान्दर्भिक रहेको बताउँदै भण्डारीजस्ता नेता देशलाई खाँचो भएको औंल्याउँदै आएका छन् । भण्डारी कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सम्पर्कबाट कम्युनिस्ट आन्दोलनमा लाग्नु भएको थियो । उहाँ तत्कालीन नेकपा मालेको केन्द्रीय सदस्य पोलिटब्युरो सदस्य हुँदै २०४६ सालदेखि त्यस पार्टीको महासचिव बन्नु भएको थियो । विश्वभर कम्युनिस्ट शासन पतन भइरहेका बेला ९० को दशकमा जनताको बहुदलीय जनवाद नामक प्रजातान्त्रिक विचारको प्रतिपादन गरेर नेपालको कम्युनिस्ट आन्दोलनलाई प्रजातान्त्रीकरण गरेपछि मदन भण्डारी विश्वभर चर्चाको शिखरमा पुग्नुभएको थियो ।
डुब्न लागेको कम्युनिस्ट आन्दोलनलाई बहुदलीय प्रतिस्पर्धामा लगेर बचाउन सफल भएका जननेता भण्डारीलाई एक चर्चित अमेरिकी पत्रिकाले कार्ल माक्र्स नेपालमा जीवित छन् भनेरसम्म लेखेको थियो । भण्डारीले २०४८ सालको संसदीय चुनावमा नेपाली कांग्रेसका सभापति तथा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराउनु भएको थियो । यता नेकपाले सोहि दुर्घटनामा निधन हुनुभएका अर्का नेता जीवराज आश्रितलाई कुशल संगठकका रुपमा लिंदै आएको छ । आश्रित त्यस समयमा नेकपा एमालेका संगठन विभाग प्रमुख हुनुहुन्थ्यो । अश्रित पार्टी भित्र सालिन र कार्यकर्ताबिच मिलनसार नेताका रुपमा चिनिनु हुन्थ्यो ।