तस्विर : सम्झना भण्डारीको फेसबुक वालबाट ।
असोज १२, धादिङ ।
धादिङबेसी स्थित क्याम्पस चोकमा आजदेखि निःशुल्क कपडा घर संचालनमा आएको छ । सामाजिक सेवामा क्रियाशिल धादिङका युवाहरुद्वारा संचालित निःशुल्क कपडा घर नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाले उद्घाटन गरे सँगै संचालनमा आएको हो ।
नि:शुल्क कपडा घर संचालनको अभियान्ता सम्झना भण्डारीले म बनाऊछु मेरो धादिङ (Together We Can) भन्ने अभिप्रायले यो निस्शुल्क घर सञ्चालनमा ल्याएको बताउनुभयो ।

आफुभन्दा असाह्यलाई सहयोग गरौं भन्ने भावनालाई आत्मसाथ गरि सक्नेले लुगाहरु यस निःशुल्क घरमा राख्दिन र असाह्यहरुले आफुलाई मिल्ने साइजको लुगा आएर लैजान पनि आग्रह गर्नुभएको छ ।
निःशुल्क कपडा घर खुल्ला तथा निशुल्क सेवा भएकाले फोहोर नगर्न र यसको संरक्षण गर्नुपर्ने सबैको दायित्व भएको समेत भण्डारीले बताउनुभयो । 
निःशुल्क लुगा घर उद्घाटनको क्रममा नगर प्रमुख ढुङ्गानाले समाजसेवी युवाहरुको यस महत्वपूर्ण कामको लागि नगरपलिका र आफ्नो व्यक्तिगत रुपमा पनि सहयोग रहने बताउनुभयो ।











