२ चैत्र, २०७७
म्यान्मारमा आईतबार एकै दिन ३८ जना प्रदर्शनकारीहरू मारिएको छ । गत फेबु्रअरी १ मा सेनाले कु गरि शक्ति हातमा लिए यताकै सबैभन्दा घातक दिनको रूपमा लिएको छ । एकैदिन यति ठूलो संख्यामा प्रदर्शनकारीहरुलाइ सेनाले गोलि हानि मारिदिएको हो ।
द एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) ले मुख्य शहर याङ्गुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमा कम्तीमा २१ प्रदर्शनकारीहरू मारिएको जनाएको छ । साथै बाँकी मृत्यु देशका अन्य विभिन्न भागमा भएको थियो । याङ्गुनमा प्रदर्शनकारीहरूले लाठी, छुरी, बन्चरो ,पेट्रोलको प्रयोग गरेपछि सुरक्षा फौजले गोली चलाएको विविसिले जनाएको छ ।
त्यहाँको औद्योगिक क्षेत्रमा रहेको चिनियाँ उद्योग र व्यवसायमाथि आक्रमण भएपछि याङ्गुनको धेरै भागमा सैन्य कानुन लागु गरिएको जनाइएको छ । चीनले म्यान्मारको सेनालाई सहयोग गरिरहेको प्रदर्शनकारीहरूले आरोप लगाएका छन् । यता चिनियाँ दूतावासले केहि उद्योगहरूमा लुटपाट गर्दै क्षति पु¥याइएको र चिनियाँ कामदारहरू घाइते भएको जनाएको छ । दूतावासले म्यान्मारलाई हिंसा रोक्न थप प्रभावकारी उपायहरू अपनाउँदै दोषीलाई कानुन अनुसार कारबाही गर्न र म्यान्मारमा रहेका चिनियाँ नागरिक एवम् सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको गरेको छ ।


महिला नेत्री तथा नेश्नल लीग फर डेमोक्रेसी (एनएलडी) पार्टीकी प्रमुख आङ सान सू चीको पार्टीले विजय हासिल गरेपछि त्याहाको सेना समर्थित दलले नमान्ने घोषणा गरेको थियो ।
निर्वाचनमा ठूलो धाँधली भएको आरोप लगाउँदै पुनःनिर्वाचनको माग गरेका थिए । साथै म्यानमारको निर्वाचन आयोगले भने चुनावमा धाँधली भएको भन्ने दाबी पुष्टि गर्ने कुनै प्रमाण नभएको बताएको थियो । नयाँ निर्वाचित संसद्को बैठक आरम्भ हुनै लाग्दा गत फेब्रुअरी १ मा त्यहाँ सैनिक कू भएको थियो ।
सैनिक कु को विरुद्धमा देशैभरि आन्दोलन भइरहेको छ । साथै म्यानमारको सैनिक कु को विरुद्धमा विश्वका अधिकांश राष्ट्रहरुले विरोध गरिरहेको छ । महिला नेत्री तथा (एनएलडी) पार्टीकी प्रमुख आङ सान सू ची भने सेनाको नजरबन्दमा छन् ।