
गत वर्ष जस्तो यो वर्ष मल अभाव नहुने कृषि सामाग्री संस्थान गजुरीका शाखा कार्यालयका प्रमुख विनोद शर्माले बताउनुभएको छ । कोभिड १९ को कारण प्रयाप्त मात्रामा ढुवानी हुन नसक्दा अन्य स्थानमा केही समस्या भएपनि धादिङमा भने मल आईरहेकोले किसानलाई मल पाईने कुरामा ढुक्क हुन प्रमुख शर्माले बताउनुभयो ।
निषेधाज्ञाका कारण हप्तामा एक पटक मल वितरण गर्ने भनिएता पनि कृषकका मागलाई मध्यनजर गर्दै र मलको प्रयाप्तता हेर्दै हप्तामा २ दिन मल वितरण गर्ने गरेको उहाँले बताउनुभयो । किसानको माग बमोजीम मल उपलब्ध गराउन नसकेतापनि गत वर्षको तुलनामा यस वर्ष बढि मल वितरण भईसकेकाले यो वर्ष विगतका वर्षहरुमा जस्तो समस्या नपर्ने शर्माले बताउनुभयो ।
जिल्लामा कृषि संस्थान गजुरीमा सूचिकृत ९५ ओटा सहकारीले मल वितरण गर्दै आईरहेको छ । रुविभ्याली गाउँपालिका बाहेक धादिङको १२ ओटै स्थानिय तहका सहकारीले मल वितरण गरिरहेको उहाँले बताउनुभयो । अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७ र विक्रेता व्यवस्था कार्यविधि २०७७ बमोजिम मल वितरण भईरहेको शर्माले बताउनुभयो ।
आज मात्रै ३७ ओटा सहकारीले १ सय ५२ दशमलव ३०० मेट्रिकटन युरिया, २३ दशमलव ०५ मेट्रिकटन डिएपि र १ दशमलव २५० मेट्रिकटन पोटास मल कृषि संस्थान गजुरीबाट लिएको उहाँले बताउनुभयो । आहिलेसम्म २३ सय मेट्रिकटन युरिया मल, ८ सय २० मेट्रिक टन डिएपि, १ सय १४ मेट्रिक टन पोटास र ३३ दशमलव २ मेट्रिकटन कृषिचुन मल वितरण भएको छ ।
धादिङ जिल्लामा वार्षिक ३ हजार मेट्रिकटन यूरिया मल, ९ सय मेट्रिकटन डिएपी र ५५ मेट्रिकटन पोटास मलको माग हुनेको गरेको छ । नेपाल सरकारले किसानहरुको लागि अनुदानमा दिएको मल कृषि सामाग्री संस्थान गजुरीले अनुदानको मल सहकारी मार्फत वितरण गर्दै आएको छ ।
कृषि सामाग्री संस्थानमा सूचिकृत भएका कृषिसहकारीले किसानको लागि ढुवानी र सरकारले तोकेको केहि प्रतिशत मात्र नाफा लिएर मल विक्री गर्दै आएको छ । यता किसानले भने मल नपाएर रित्तो हात फर्किनु परेको बताउने गरेका छन् ।

धादिङवेशीं स्थित निलकण्ठ सहकारीले वितरण गरेको मल लिने किसानको भिड ।
मल वितरण अव्यवस्थीत हुँदा कोरोनाको जोखीम बढ्यो
यस्तै सदरमुकाम धादिङबेशी स्थित निलकण्ठ सहकारीले आज किसानहरुलाई युरिया मल वितरण गरेको छ ।
सहकारीमा उपलब्ध भएको १ सय बोरा मल १ बोरा ५/५ जनालाई १० किलोको दरले वितरण गरेको निलकण्ठ सहकारी संचालक समितिका उपाध्यक्ष खगेन्द्र कोइरालाले जानकारी दिनुभयो । मल एक सय बोरा मात्रै आएकाले धेरै किसान रित्तो हात फर्किन परेकोे कोईरालाले बताउनुभयो ।
मल वितरण गर्ने भन्ने थाहा पाएपछि किसानहरुको विहानेदेखी सहकारीको प्राङ्गणमा भिड लागेको थियो ।
धादिङमा कोरोना संक्रमितको संख्या दिनानु दिन बढिरहेकाले सहकारीहरुले अव्यवस्थीत रुपमा मल लगायत कृषि सामाग्राीहरु वितरण गर्दा कोरोनाको जोखीम बढेको स्थानियहरुले बताएका छन् ।
यो पनि पढ्नुहोस् :
वर्षेनी मल र औषधीको अभाव हुँदा कृषक समस्यामा