२९ जेठ,धादिङ ।

बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम स्वीकृत भएको छ । बिहीबार बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शुक्रबार र शनिबार भएको छलफलपछि शनिबार बहुमतले स्वीकृत गरेको हो । छलफलमा सत्तापक्ष र प्रतिपक्षका गरी जम्मा ४५ जना सांसदहरु सहभागी भएको थियो । शुक्रबारको छलफलमा सहभागि सांसदहरुले प्रदेश सरकारले तयार पारेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको विभिन्न बुँदामा संशोधनका लागि सुझावसमेत दिएको थियो । ९ जना प्रदेशसभा सदस्यले राखेको संसोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । नीति तथा कार्यक्रमको पक्षमा सत्तारुढ नेकपा एमाले एकमत थियो ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहितका प्रतिपक्ष दलले सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिएको र कुनै ठोस कार्यक्रम ल्याउन नसकेको भन्दै प्रदेश सरकारले हचुवाको भरमा नीति तथा कार्यक्रम ल्याएको भनि विरोध गरेका थिए । विपक्षी सांसदहरुले उठाएका प्रश्न र सुझावको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिदैे प्रदेश सरकारले प्रदेशका नागरिकहरुलाई केन्द्रमा राखेर कोरोना नियन्त्रण, उपचार र खोपको सुनिश्चितता हुने गरी सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको बताएको थियो । नीति तथा कार्यक्रम स्वीकृत भएपछि बागमती प्रदेशसभा बैठक आगामी असार १ गते ३ बजेसम्मका लागि स्थगित भएको छ ।