सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनासहित प्रयास नेपाल धादिङको व्यवस्थापन तथा सहयोगी दाताहरूको सहकार्यमा धादिङका दुई विद्यालयका १ सय ७३ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। साथै, भोटेकोशी बाढी प्रभावित पाँच परिवारलाई आवश्यक सामग्री सहयोग गरिएको छ।
धादिङको गजुरी गाउँपालिका–२ पुर्ख्यौली घर भई हाल आयरल्यान्ड निवासी टीका कँडेलका छोरा निर्माण कँडेलको नेतृत्वमा अन्य साथीहरूको सहयोगमा सिद्धलेक गाउँपालिका–६ स्थित गोल्मारानी आधारभूत विद्यालयका ७८ जना र गजुरी गाउँपालिका–२ स्थित जनजागृति आधारभूत विद्यालयका ९५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो।
त्यसैगरी, गजुरी गाउँपालिका–१ का भोटेकोशी बाढी प्रभावित पाँच परिवारलाई आवश्यक सामग्री सहयोग गरिएको प्रयास नेपालले जनाएको छ।
सामग्री वितरण कार्यक्रममा सिद्धलेक गाउँपालिका–६ का सुरेन्द्र मगर, गजुरी गाउँपालिका–१ का तारा भण्डारी, वडा नं. २ का डोर्ना कँडेल, सहयोगदाता टीका कँडेल, निर्माण कँडेल तथा जोन डोयल र जेम्स डोयल लगायतको उपस्थिति रहेको थियो। शैक्षिक सामग्री सहयोगले विद्यार्थीहरूको सिकाइ तथा शैक्षिक निरन्तरतामा टेवा पुग्ने र बाढी प्रभावित परिवारलाई प्रदान गरिएको सहयोगले उनीहरूको कठिन परिस्थितिलाई सहज बजाउन राहत पुग्ने सिद्धलेक गापा वडा न ६ का वडाधध्यक्ष सुरेन्द्र मगरले वताउनु भयो ।











