
असोज ४, धादिङ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बिरोधकाबीच विनियोजन विधेयक संसदबाट बहुमतले पारित भएको छ । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयक आज बसेको प्रतिनिधिसभाको बैठकबाट पारित भएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध तथा बिरोधकाबीच विधेयक पारित भएको हो । विधेयक पारित भए पनि बजेट खर्च गर्ने बाटो भने अझै खुलिसकेको छैन ।

अघिल्लो केपी ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश बजेटमाथि गत भदौ २५ गते अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गरेका थियो । सो विधेयक प्रस्तुत भएको ७२ घण्टासम्म संसदबाट पारित गर्न नमिल्ने भएकाले संसद बैठंक आज असोज ४ गतेसम्मका लागि स्थगित गरिएको थियो । साथै भदौ ३० गतेसम्म सरकारले प्रतिस्थापन विधेयक संसदबाट पारित गर्न नसक्दा बजेट विहीनताको अवस्था सृजना भयो र सरकार खर्च गर्न नसक्ने अवस्थामा पुगेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट विनियोजन अध्यादेश, आर्थिक अध्यादेश र राष्ट्रको ऋण उठाउने अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्रको ऋण उठाउने विधेयक संसदमा प्रस्तुत गरेका थिए । आज प्रतिनिधिसभाले विनियोजन विधेयक पास गरेपनि आर्थिक विधेयक र राष्ट्रको ऋण उठाउने विधेयक माथिको दफावार छलफलका लागि यहि असोज ७ गते बिहीबारको समय तोकिएको छ ।
राष्ट्रियसभामा समय लिनका लागि आज विनियोजन विधेयकमात्रै प्रतिनिधिसभाबाट पारित भएको छ । विनियोजन विधेयकको आश्रित बिधेयककरुपमा आर्थिक विधेयक र राष्ट्रको ऋण उठाउने विधेयक पनि सँगै पारित गर्नुपर्ने हुन्छ । विनियोजन विधेयक राष्ट्रियसभाबाट पारित भएपश्चात प्रतिनिधसभाले राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि सिफारिस गर्ने व्यवस्था छ । राष्ट्रपतिले प्रमाणीकरण गरेर राजपत्रमा सूचना प्रकाशित गरेपछी मात्रै बजेट पास भएको मानिन्छ र त्यसपछि मात्र सरकारले राष्ट्रिय ढुकुटीबाट खर्च गर्न सक्छ । यी सबै प्रक्रियाका पुरा गर्नका लागि सरकारले अझै केही दिन कुर्नुपर्ने भएको छ ।