कार्तिक ८, धादिङ ।
सहकारी संघ / संस्थाका संचालक तथा कर्मचारीहरुका लागि ३ दिने PEARLS अनुगमन प्रणाली सम्बन्धी तालिम सोमबारदेखि भरतपुर चितवनमा सुरु भएको छ । तालिममा बागमती प्रदेश भित्रका काठमाडौं, ललितपुर, नुवाकोट, धादिङ र चितवन जिल्लाका गरी कुल २६ जनाको सहभागीता रहेको छ ।
यस तालिममा सहकारी संघ / संस्थाहरुमा संम्पत्तिको सुरक्षण (Protection), प्रभावकारी वित्तीय संरचना (Effective Financial Structure), सम्पत्तिको गुणस्तर (Assets Quality), लगानिको प्रतिफल दर (Rate of Return on Cost), तरलता (Liquidity) र वृद्धिको संकेत ( Sign of Growth) को अवस्था र अनुपातको विषयमा तालिम संचालन गरिने सहकारी प्रशिक्षालय भरतपुर चितवनका प्रशिक्षक नन्द प्रसाद भट्टराइले जानकारी दिनुभयो ।
साथै पल्र्सका सैद्धान्तिक आधारहरु वृद्धि (Growth), सुरक्षित (Safety), प्रभावकारी (Efficiency), मुल्य (Pricing ) तथा पल्र्सका क्षेत्र, अनुपात र लक्ष्यहरुका विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण गराईने पनि बताउनुभयो ।

यस तालिम अवधिमा पल्र्स अनुगमन प्रणालीका विभिन्न सुचकहरुको विस्तृत रुपमा प्रशिक्षण गराईनेछ । तालिम पश्चात सहभागी संघ/संस्थाहरुको पल्र्सका क्षेत्र, अनुपात र लक्ष्यहरुमा सुधार ल्याउनको लागि यो तालिम प्रभावकारी हुने र तालिम पश्चात आगामी दिनमा सहभागी संस्थाहरुको अनुगमन तथा मूल्याङकन गर्ने पनि सहकारी प्रशिक्षालयले जनाएको छ ।
पल्र्स अनुगमन प्रणालीलाई सहकारी संघ /संस्थाको एक महत्वपूर्ण वित्तिय औजार तथा संस्थाको समग्र स्वास्थ्य अवस्थाको रुपमा पनि परिभाषित गर्ने गरिन्छ । यो तालिम प्रदेश सरकार भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी प्रशिक्षालय बागती प्रदेश भरतपुर चितवनको आयोजनामा सञ्चालन भएको हो ।
तालिमको उद्घाटन सहकारी प्रशिक्षालयका निमित्त प्राचार्या विष्णु अधिकारीले गर्नुभएको थियो । यस सहकारी प्रशिक्षालयले प्रत्येक वर्ष सहकारी व्यवस्थापन, सिप विकास, लेखापालन, व्यवसायिक योजना लगाएतका तालिमहरु दिने गर्दछ ।