धादिङमा जारी जिल्ला स्तरीय टी–२० क्रिकेट प्रतियोगितामा आईतबार ३ खेल सम्पन्न भएको छ ।
चक्रदेवी सामुदायिक सेवा समाज र सुभारम्भ युवा समाज विच भएको पहिलो खेलमा चक्रदेवी सामुदायिक समाज ६ रनले बिजयी भएको आयोजकले जानकारी दिएको छ । टस जितेर पहिले व्याटिङ गरेको चक्रदेवी सामुदायिक सेवा समाजले १८.२ ओभरमा सबै विकेट गुमाउदै १ सय ४ रन जोडेको थियो ।
१ सय ४ रनको लक्ष्य पछ्याउने क्रममा शुभारम्भ युवा समाजले २० ओभरमा ९ विकेट गुमाउदै ९८ रन मात्रै बनाउन सक्योे । खेलमा ३ विकेट लिएका चक्रदेवी सामुदायिक सेवा समाजका विशाल थपलिया म्यान अफ द म्याच घोषित हुनुभयो ।
त्रिपुरासुन्दरी क्रिकेट टिम र भद्रकाली युवा समाजबिच भएको दोस्रो खेलमा त्रिपुरासुन्दरी क्रिकेट टिम ५० रनले विजयी भएको छ । टस जितेर पहिले व्याटिङ गरेको त्रिपुरासुन्दरी क्रिकेट टिमले ८ विकेटको क्षतिमा १ सय १४ रन बनाएको थियो । १ सय १५ रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रेको भद्रकाली युवा समाजले सबै विकेट गुमाउदै ६४ रन मात्रै जोड्न सकेको थियो ।
३ विकेट लिएका त्रिपुरासुन्दरी क्रिकेट टिमका खेलाडी दोश्रो खेलको म्यान अफ द म्याच चुनिएका छन् । त्यस्तै चरौदी समाज सुधार युवा क्लव र गलौदी युवा क्लव गजुरी बिच भएको तेस्रो खेलमा चरौदी समाज सुधार युवा क्लव ६ विकेटले विजयी भएको छ । टस जितेर पहिले व्याटिङ गरेको गलौदी युवा क्लव गजुरीले ५ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो ।
लक्ष्य पछ्याउने क्रममा चरौदी समाज सुधार युवा क्लवका कप्तान श्याम त्रिपाठी अर्धसतकिय रनको सहयोगमा १६.१ ओभरमा ६ विकेटले विजयी हासिल गरेको छ । लगातार दोस्रो जित सहित चरौदी समाज सुधार युवा क्लव सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
खेलमा अर्धसतक हान्नुभएका श्याम त्रिपाठी खेलको म्यान अफ दि म्याच बन्नुभएको छ । धादिङ जिल्ला क्रिकेट संघको आयोजना गत बिहिबार देखि बेनीघाट रोराङ गाउपालिकाको बिशालटारमा क्रिकेट प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेतालाई नगद १ लाख र उपविजेतालाई नगद ५० हजारसहित पुरस्कृत गरिने आयोजक धादिङ जिल्ला क्रिकेट संघले जनाएको छ ।