
धादिङको ६ ओटा स्थानिय तहमा शुक्रबारबाट मतदाता नामावली संकलन सुरु भएको छ । २ चरणमा गरिने मतदाता नामावली संकलन कार्यक्रम पहिलो चरणमा आजदेखि २६ गतेसम्म संचालन हुने छ ।
दोस्रो चरणमा मंसिर २८ गतेदेखि पुष ८ गतेसम्म संचालन हुने जिल्ला निर्वाचन कार्यालय धादिङका जिल्ला निर्वाचन अधिकारी सन्तोष कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पहिलो चरणमा रुवीभ्याली, गंगाजमुना, सिद्धलेक, गजुरी, ज्वालामुखी गाउपालिका र धुनीबेशी नगरपालिका र दोस्रो चरणमा त्रिपुरासुन्दरी, नेत्रावती डबजोङ, बेनिघाट रोराङ, थाक्रे, गल्छी, खनियाबास गाउपालिकामा संचालन भइरहेको छ ।
अहिलेसम्म छुटेका, नयाँ दर्ता गराउन र आ–आफ्नै स्थानीय तहको कार्यालयबाट मतदाता नामावली संकलन गर्ने भएकोले नेपाली नागरिकता प्राप्त गरेका नागरिकले समयमै दर्ता गराउन निर्वाचन अधिकारी श्रेष्ठले बताउनुभयो ।
यस्तै दर्ता गर्न छुट भएकाहरुले अनिर्वाय रुपमा सक्कल नेपाली नागरिकता सहित जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय धादिङबाट समेत दर्ता गराउन सकिने उहाँले बताउनुभयो ।
शुक्रबार गंगाजमुना गाउपालिकामा ९ जना, गजुरीमा ३८, ज्वालामुखीमा ९, धुनिवेशी नगरपालिकामा २१, रुवीभ्याली गाउपालिकामा १३, सिद्धलेक गाउपालिकामा ८ गरि १ सय ४७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । यस्तै निलकण्ठ नगरपालिकाको भने हरेक दिन जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट दर्ता भइरहेको छ ।