८ माघ, २०७८
विराटनगर महानगरपालिका–१६  दरैया र भारत जोगवनीस्थित टिकुलिया  बस्तीबीच पर्ने  सिमावर्ती दशगजा क्षेत्र (नो मेन्स ल्याण्ड) मा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सुरक्षा पोस्ट खडा गरेको छ । एक महिनाअघि स्थापना गरेको सुरक्षा पोष्टमा २४ सै घण्टा एसएसबीको टोली तैनाथ गरिएको छ । त्यस क्षेत्रमा भारतीय पक्षले एक पक्षीय रुपमा दशगजा क्षेत्रमा पोष्ट खडा गरेको हो । दुई देशीय सिमानामा कुनै पनि संरचना बनाउन र गतिविधि गर्न नपाइने अन्तर्राष्ट्रिय कानून विपरित एसएसबीले पोष्ट बनाएको हो । एसएसबीले दशगजामा नेपालको गतिविधि नियाल्नुका साथै चेकजाँच गर्ने गरेको स्थानीयले बताएका छन् । नाकामा एसएसबीले धम्क्याउने र नेपाली नागरिकलाई दुर्व्यवहार समेत गर्ने गरेको स्थानीयको गुनासो छ ।

दशगजामा एसएसबीले पोस्ट बनाएको विषयमा जानकारी आएपछि हटाउनका लागि पहल भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताएका छन् । दशगजा क्षेत्रमा संरचना निर्माण गर्न नपाउने बताउँदै उनले संरचना हटाउनका लागि भारतीय पक्षसँग छलफल गर्ने बताए । भारतीय समकक्षीसँग छलफलबाट समस्या सामधान नभए गृह मन्त्रालयमार्फत कूटनैतिक पहल गरिने उनको भनाइ छ । भारतीय पक्षले अन्र्तराष्ट्रिय कानून विपरित नेपालको सिमा क्षेत्रमा संरचना र सडक निर्माण गरिरहेको छ ।

यो समाचार अनलाईनखबरका संवाददाता हरि अधिकारीले लेखेको छ ।

Facebook Comments