
३ चैत्र, धादिङ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि घोषणा पत्र तयार गर्ने कार्यमा जुटेको छ । यहि चैत्र ९ गतेदेखि शुरु हुने केन्द्रिय कमिटीको बैठकमा पेस गरी अनुमोदन गराउने गरी घोषणापत्र लेखनको काम शुरू गरेको हो । यसका लागि पार्टी सचिवालयको बुधवार बसेको बैठकले गत स्थानीय तहको लागि तयार पारेको घोषणापत्रको अध्ययन र आगामी घोषणापत्रमा समावेश गर्नुपर्ने विषयमा छलफल समेत गरेको थियो ।
पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार पार्टी केन्द्रले तयार गरेको घोषणापत्र स्थानीय पार्टी कमिटीलाई पठाइनेछ । उहाँका अनुसार विगतको निर्वाचनको घोषणापत्रको समीक्षा र नयाँ समेट्नुपर्ने विषयमा प्रस्तावहरू तयार पार्ने र पार्टीले जनताको सेवालाई प्रमुख प्राथमिकता दिएर घोषणापत्र तयार गरिने तथा सेवा प्रवाहलाई मुख्य प्राथमिकता दिइने जनाएको छ । साथै स्थानीय कमिटीले विकास निर्माणको कामलाई उच्च प्राथमिकता दिँदै नागरिकलाई सेवा सुविधा सहज रूपमा कसरी प्रवाह गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर घोषणापत्र तयार गरिनेछ ।
पार्टीको घोषणापत्र तयार गर्ने टिममा सहभागी पार्टीका नीति अनुसन्धान विभागका प्रमुख वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू, महासचिव शंकर पोखरेल र उपमहासचिवहरू, सचिवहरू, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.पुष्प कँडेल, पुनर्निर्माण प्राधिकरणका पूर्व निर्देशक सुशिल ज्ञवालीलगायतले घोषणापत्रको अवधारणाको बारेमा छलफल गर्नुभएको छ । यस टिममा नगरपालिका महासंघका प्रमुख, गाउँपालिका महासंघका प्रमुख, इन्जिनियर, योजनाविद, कानुनविद लगायतको पनि सहभागी रहेको छ ।
पाँच वर्षको अवधीमा स्थानीय तहमा देखिएका राम्रा पक्ष र सुधारका पक्षहरूलाई समेत समावेश गर्नका लागि गाउँपालिका महासंघ र नगरपालिका संघका अध्यक्षहरूलाई पनि घोषणा पत्र तयार गर्ने टिममा सहभागी गराएको हो । केन्द्रले तयार पारेको मूल घोषणापत्रको आधारमा स्थानीय पार्टी कमिटीले नयाँ घोषणापत्र पनि निर्माण गर्नसक्ने छन् ।