
हिजोआज धेरै महिलाले महिनावारीको बेलामा कपडाको सट्टामा स्यानिटरी प्याड प्रयोग गर्छन् । गाउँका महिलाले यसको धेरै प्रयोग नगरे पनि सहरमा सबै महिलाको भरपर्दो सामान हो प्याड । प्याडले महिनावारीको समयलाई सजिलो र सरल बनाउँछ, प्रयोग गर्न जानेन भने यसबाट सुविधा हैन असुरक्षा धेरै हुन्छ ।
के गर्नु पर्छ ?
प्रत्येक चार घण्टामा प्याड फेर्नुपर्छ,
धेरै रगत भएमा, प्याड भिजेको अनुभव हुने वित्तिकै फेर्नुपर्छ,
दिनहुँ नुहाउनु पर्छ ।
कसरी असुरक्षित हुन्छ ?
महिलाहरुले स्यानिटरी प्याड प्रयोग गर्दा जब सम्म भिजेको हुँदैन तब सम्म फेर्दैनन् तर यो असुरक्षित हो ।
२४ घण्टा प्रयोग गर्ने बानी
कम गुणस्तरको प्याड प्रयोग गर्नाले के हुन्छ ?
स्यानीटरी प्याडमा प्रयोग हुने कपास खेतबाट ल्याइने हो, त्यसमा रसायनको प्रयोग पनि हुन सक्छ । पछिल्लो समय स्यानिटरी प्याडमा डायअक्सिन केहि मात्रामा भेटिएको पाइएको छ । स्यानिटरी प्याड किन्दा लेबल हेरेर मात्र किन्नुपर्छ । के के प्रयोग भएका छन्, कहिले बनेको हो भनेर हेर्नु बुद्धिमानी हो । इन्टरनेटमा खोजेर पनि यसको बारेमा थाहा पाउन सकिन्छ ।
महिनावारीका बेलामा गर्नुपर्ने सरसफाई अर्थात् मेन्सुरेसन हाइजिनको कुरामा पनि हाम्रो साँस्कृतिक पाटो अलि नकारात्मक छ । महिनावारी भएको बेलामा गोठमा सुताउने, तीन दिनमा अथवा चार दिनमा मात्र नुहाउने नियम छ तर महिनावारी हुँदा दिनहुँ नुहाउनु पर्छ । महिनावारी हुँदा देखा पर्ने रगत किटाणुलाई संक्रमण हुन सजिलो हुने खालको हुन्छ ।
देखापर्ने समस्या
यौनांगमा संक्रमण
चिलाउने
नराम्रो गन्ध आउने
सरसफाईमा ध्यान दिन सकिएन भने पछि पाठेघरको मुखको क्यान्सर पनि हुन्छ ।
कुन बेला कस्तो प्याड प्रयोग गर्ने ?
रगत धेरै भएको बेलामा प्याकेटमा नाम हेरेर बाक्लो प्याड (हेभी फ्लो) लगाउने
राती सुत्ने बेलामा अलिकति लामो आकारको (एक्स्ट्रा लार्ज) प्याड लगाउने
लामो यात्रामा निस्कनु छ अथवा काममा भाग दौड धेरै गर्नु छ भने विङ्स प्याड लगाउने
प्याडमात्र प्रयोग गर्ने मात्र होइन, राम्रो सुतीको कपडा पनि प्रयोग गर्न सकिन्छ । यसलाई राम्ररी धोएर घाममा सुकाए पछि प्रयोग गर्नु हुन्छ । धेरै रगत हुन्छ भने बाक्लो र कम मात्र रगत हुन्छ भने पातलो कपडा प्रयोग गर्नुपर्छ । यो पनि जम्मा चार पाँच पटक भन्दा धेरै हुनुहुँदैन । \
नयाँ प्रविधि
विकसित देशमा अहिले महिनावारीको समयमा प्याडको सट्टामा कपको प्रयोग हुन थालेको छ । यसलाई मेन्स्ट्रोल कप भनिन्छ । यसलाई योनीको बाटो हुँदै पाठेघरको मुखसम्म पुग्ने गरी राख्नु पर्छ । कप भरिएपछि सफा गरेर यसलाई पुन प्रयोग गर्न सकिन्छ ।
समस्या नआओस् भन्ने सबैभन्दा उत्तम उपाय भनेको सरसफाई नै हो । महिनावारीको बेलामा मात्र होइन अरु बेलामा पनि यौनांगको सरसफाईमा ध्यान दिनु आवश्यक छ । यौनांग जहिले पनि सुख्खा राख्नुपर्ने भएकोले पिसाब गरेपछि टिस्यु पेपरले पुछ्ने, दिशा गरेपछि सधै अगाडिबाट पछाडि हात लगेर धुनुपर्छ । जुन पायो त्यहि साबुनको प्रयोग गर्नुहुँदैन र सधै सुतीको कट्टु प्रयोग गर्ने गर्नुपर्छ । यसबाट पिसाब सम्बन्धि संक्रमणबाट पनि बच्न सकिन्छ ।