धादिङका एक वृद्धादम्पत्तीले सरकारले दिएको वृद्धाभत्ता विद्यालयको अक्षय कोष स्थापनामा खर्छ गरेका छन् । आफुहरुले नेपाल सरकारबाट पाउँदै आएको वृद्धाभत्ता ठुलोचौर माध्यमिक विद्यालयमा अक्षयकोष स्थापनाको लागि प्रदान गरेका हुन् ।
ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का खड्क नारायण श्रेष्ठ र उहाँकी श्रीमती एम कुमारी श्रेष्ठले आफ्नो चौरासी सिध्दपुजाको अवसरमा अक्षयकोष स्थापना गर्नुभएको हो ।
विद्यालयमा एक समारोहको आयोजना गरि विद्यालयका प्रधानध्यापक श्याम कुमार श्रेष्ठलाई अक्षय कोष स्थापनाको लागि २ लाख १ हजार १ सय ११ रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।
आफुहरुलाई खाना लाउन कुनै समस्या नपरेकोले आफुले पाएको भत्ता विद्यालयमा अक्षय कोष स्थापनाको लागि दिएको उहाँहरुको भनाई छ । कुनै पनि बालवालिका शिक्षाबाट वञ्चित हुन नपरोस र समस्यामा नपरुन् भन्ने उद्देश्यले ८४ औं सिध्दपुजामा अक्षयकोष स्थापना गरिएको दम्पतीका भतिज राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रमकै अवसरमा वृद्धादम्पतीले विद्यालयका ७८ जना विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री तथा विद्यालयको लागि चेस बोर्ड लगायतका सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
ज्येष्ठ नागरिक ८८ वर्षिया सानी माया कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष कृष्ण गिरि, वडा नम्बर २ का वडा अध्यक्ष राजु लोप्पा लगायतका स्थानियहरुको उपस्थिति रहेको थियो ।











