मकवानपुर र बाराको सिमा नजिक बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६ जना भारतीय नागरिक र एकजना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभएको छ । डीएसपी क्षेत्रीका अनुसार मृतक मध्ये चारजना महिला र तीनजना पुरुष रहेका छन् । यस्तै दुर्घटनामा परी १७ जना घाइते भएका छन् ।

उनीहरुको हेटौँडाको चुरेहिल र हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले बताउनुभयो । काठमाडौंबाट भारतको महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस आफै अनियन्त्रित भई चुरियामाई भन्दा अन्दाजी एकसय मिटर दक्षिणमा बाटोबाट दश पन्ध्र मिटर तल खोलामा खसेको थियो ।

बसमा २७ जना यात्रु रहेको इलाका प्रहरी कार्यलय सिमराका डीएसपी क्षेत्रीले जानकारी दिनुभयो । बसका चालक भने फरार रहेको र उनको खोजीकार्य भइरहेको डिएसपी क्षेत्रीले बताउनुभयो ।

Facebook Comments