एकछिन खुसीले रमाऔं
सारा दुःख पीर भुलेरै भएपनि एकदिन खुुसी मनाऔं
देशले सर्लक्कै सम्बृद्धिको यात्रा तय गरिसक्यो,
आउनुहोस हजुर खुसीले रमाऔं ।
थाहा पाउनु भएन तपाईले
नेताहरुले चिवाभञ्ज्याङदेखि झुलाघाटसम्मको यात्रा तय गरिसके
नाम नै तय भइसक्यो संकल्प यात्रा, मुख्य जक्सन र जमघट स्थल छनौट भइसक्यो
रुटमा पर्ने जिल्लाका सुकिला नेताहरु जिल्ला छिरिसके
आफ्नै नेताको स्वागत र खानपानको व्यवस्थापन गर्न गाउँ पसिसके
चर्खे पिङ खेलेको फोटो नै आइसक्यो,
सोसल मिडियामा सम्बृद्धिले फेरी स्थान पाइसक्यो
गलाभरी माला भिरेका हात हल्लाउदै गाडीमा सवार भएका,
बाटोमा भेटेका बस्ती र फाँटका फोटो खिच्दै फेसबुकका भित्तामा सजाइसके
वरपर र आसपासका जनता जम्मा पारेर फेरी सम्बृद्धिको सपना देखाइसके
अनि, अनि यस्तो बेलामा पनि खुसीले नरमाएर हुन्छ ?
ठाउँको ठाउ खुसीले रमाउनुपर्ने बेला नै यही हो
मनमा पीर, दुःख कष्ट, अभाव र समस्या छन त के भो
छाडिदिनुस देशका लागि एकदिन ती सारा दुःख र समस्यालाई
नेताका अनुहार चम्किलो र उज्यालो हुन्छ भने
खुसी हुनुस हजुर भोको पेटलाई पटुकीले टम्म कसेरै भएपनि
मुसुस्क मुस्काइदिनुस् नेताको अभियानको लागि
सक्नुहुन्छ भने सारा पीर भुलेर छमछम नाची नै दिनुस
खुसी हुनुस् हजुर खुसी हुनुस्
रुन्चे हासो हासेरै भएपनि खुसी हुनुस् ।
सानुबाबु तिमिल्सीना
सिद्धलेक धादिङ, हाल पोर्चुगल
Facebook Comments