२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

वन संरक्षणमा एक्ला भूमीरमण !

वन संरक्षणमा एक्ला भूमीरमण !

जब जव गर्मि सिजन शुरु हुन्छ, हाम्रा बन जंगलमा आगलागीका घटना बढ्न थाल्छन् । हरेक बर्ष गर्मि महिनामा धेरै भन्दा धेरै सामुदायिक बनमा आगलागि हुने गरेका छन् । मानविय त्रुटीका कारण मात्र नभई हराउँदै गएको वन संरक्षणप्रतिको रुचीका कारण पनि वनजंगलमा आगलागिका घटना बढ्ने गरेको छ ।

यस बर्ष पनि गर्मि सिजन शुरु भएसँगै वन जंगलमा आगलागिका घटना शुरु हुन थालेका छन् । वन जंगलमा आगलागिका घटना शुरु हुँदा संरक्षणकर्मी भूमिरमण नेपालको योगदानको याद आउने गर्छ । जीवनको उत्तरार्ध अवस्थामा पनि भूमीरमण नेपालको संरक्षणको अभियानमा अझै युवा जोश छ । केही दिन अगाडि मात्र धादिङ अपडेट सहित विभिन्न अनलाईनमा भूमीरमण नेपालले वन संरक्षणका सवालमा विगुल बजाएर उपभोक्ताहरुलाई दिनुभएको सन्देशले यसकै संकेत गर्दछ । यो उही विगुल हो, जुन मैले उहाको झोलामा २०६५ सालमा पहिलोपटक देखेको थिए ।

त्यतिबेला पनि उहाँ उपभोक्ता भेला, बन समुहको छलफल तथा अन्य कुनै काम हुँदा पनि विगुल साथमा लिएर जानुहुन्थ्यो र विगुल बजाएर उपभोक्तालाई जागरण दिने गर्नुहुन्थ्यो । त्यतिबेला देखि मैले देखेको उहाँको उत्साहामा अझै कत्तिपनि कमि आएको छैन । वन भनेपछि हुरुक्क हुने उहाँको बानी अझै घटेको छैन । बाटो हिड्दा होस, वा मेलापात जाँदा उहाँ सबैलाई बन संरक्षणकै विषयमा चेतना दिनुहुन्छ । झन गर्मि सिजन शुरु हुन लाग्दा त उँहाको घरमा बास नै हुँदैन । कतै बनमा आगो लागेको देख्नासाथ सो बन समुहको उपभोक्तालाई फोन गरेर आगो निभाउन जान उत्प्ररणा दिनुहुन्छ । यस्तो उत्साह सायद कमैमा छ ।

हुन त मैले भूमीरमण नेपाललाई वन संरक्षणकर्मी भनेर चिनाइरहनुपर्दैन । उहाँको नामै काफि छ । तैपनि जुनबेलादेखि मैले उहालाई चिने, उहाको नजिक रहेर केही बुझ्ने मौका पाए, त्यसबेलादेखि मलाई पनि उहाँप्रतिको उत्साह र लगाव देखेर अचम्म लाग्यो । वनजंगल भनेपछि हुरुक्कै हुने भूमीरमणको योगदान कम छैन । उहाको त्यतिबेलाको विचार, वन संरक्षण गर्नुपर्छ भन्ने भावना सुन्दा अचम्म लाग्छ । जस्तो ‘खिर्रो होस् बाङ्गो होस, नाङ्गो नहोस’ कस्तो राम्रो सटिक विचार । हो त वन जंगल नासिएर नाङ्गो बनेको डाँडाकाँडा होइन, बरु खिर्रो नै किन नहोस, बाङ्गो नै बेस तर हरियाली होस् भन्ने कस्तो राम्रो विचार । त्यतिमात्र होइन, ‘सन्ततीका लागि बन कहाँ छ ? यी र यस्ता धेरै मर्म स्पर्शी सन्देशहरु धेरै छन् नेपालका ।

केही बर्ष अगाडि म धादिङबाट घर फर्कदै गर्दा कालुपाडे मार्गको डुम्रे खोलामा पानी खान रोकिए । पानी खाँदै गर्दा मैले आँखै अगाडि खिर्राको बोट देखे, यसो बाङ्गोटिङ्गो परेर बटारिएको खिर्राको बोट देखेर मैले भूमीरमण नेपालले भन्नुभएको त्यो कुराको याद गरे । अनि सम्झिय, आखिर यो खिर्रोको बोट बाङ्गो भएर के भयो त, हरियाली त दिएको छ, नाङ्गो त छैन । मैले केही बर्ष अगाडि धादिङको पहिलो सामुदायिक रेडियो ‘रेडियो धादिङ’ मा काम गर्दाको समयमा भूमीरमण नेपालसँग नजिक हुने मौका पाए ।

धेरै पटक भूमीरमण नेपालसँग वन संरक्षणको विषयमा कुराकानी गरेको छु । उहाँसँग जिल्लाका धेरै ठाउँमा रहेका सामुदायिक वनमा पुग्ने मौका पाएको छु । उपभोक्ताहरुसँग वन संरक्षणका विषयमा कुराकानी समेत गरेको छु । धेरै उपभोक्ताहरुलाई यस्तो छाप परेको छ कि वन कसैले जोगाउछ, भने भूमीरमण नेपालले मात्र वन जोगाउँछ भन्ने छाप उपभोक्तामा परेको छ । त्यतिबेला गर्मि सिजनमा हरेक दिनजसो मलाई फोन गरेर भन्नुहुन्थ्यो ‘सर, हिजो फलानो वनमा आगलागि भयो, हामी सबै उपभोक्ता गएर निभायौं, अनि फलानो बनमा अग्नि रेखा बाँधेका छौं, आगलागि हुँदैन, ।

रेडियोबाट यसो मिल्छ भने यो सन्देश दिनुस है भन्नुहुन्थ्यो । यस्ता खालको कुराले मलाई उहाँप्रतिको लगाव झन बढाउथ्यो ।
एकपटक उहाले मलाई चैनपुरको एक सामुदायिक वनमा अग्नीरेखा बनाउने कार्यक्रम छ, मिल्छ भने आउनु न भन्नुभयो । मैले हुन्छ तर केही ढिला हुन्छ भने । उहाँ गइसक्नु भएको रहेछ । म ढिला गरी पुग्दा सामुदायिक बनभरी उपभोक्ताहरु अग्नीरेखा बनाउन व्यस्त हुनुहुन्थ्यो, मैले भूमीरमण नेपाललाई खोजे, खोज्दै जाँदा उँहा हातमा खरेटो लिएर बनका पत्कर सोर्दै र अग्नीरेखाको महत्व उपभोक्तालाई सिकाउँदै हुनुहुन्थ्यो । मैले बनभित्रको अग्नीरेखा बनाउने विधि र त्यसको कामबारेमा भूमीरमण नेपालको मुखबाट चैनपुरको सामुदायिक वनमा पहिलोपटक जान्ने अवसर पाए । यसो गर्नुपर्छ, यसको काम यो हो, यसरी यसले आगलागीबाट हुने थप क्षति कम गर्छ भन्ने जस्ता कुराहरु प्रयोगात्मक शैलीमा नै उपभोक्ताहरुलाई सिकाउने उहाँको बानी छ ।

अहिले विश्वव्यापी रुपमा चर्चाको रुपमा आएको ग्लोबल वार्मीम को विषयमा पनि उहाले रोचक भनाई छ । एक पटक उहाले मलाई नीलकण्ठ नगरपालिका वडा नम्वर १ को काउले नजिकैको सामुदायिक वनमा गरिएको वृक्षरोपणको अवस्था हेर्न जान अनुरोध गर्नुभयो । हामी दुबै जना धादिङबेसीबाट हिडेर काउले पुग्यौं । काउँले जाँदा बाटोमा उहाले भन्नुभयो कि ‘सर अहिले यो ग्लोबल वार्मिङ, स्वार्मिङ के के भन्छन्, मैले वन विनास हुँदा यस्तो हुन्छ भनेर २० बर्ष अगाडी नै बुझेको थिए, त्यतिबेला मैले भनेको कुरा कसले सुन्ने, कहाँ लगेर सुनाउने, अहिलेको भाषा पो मलाई थाहा थिएन त हरियाली कम हँदा के कस्तो असर पर्छ भन्ने त मलाई थाहा थियो नि ।

अहिले यही भएको छ ।’ उहाँको दुरदर्शीता देखेर मलाई निकै आश्चर्य लाग्यो । उहाँमा यस्तो उर्जा र चेतना कहाँबाट जागृत हुन्छ भनेर म छक्क परे । वन संरक्षण र विकासको काम गर्ने जिल्ला वन कार्यालय पनि छ । वन कार्यालयले हरेक बर्ष बृक्षरोपणको लागि विरुवा वितरण पनि गर्दै आएको छ । तर संरक्षणमा त्यति ध्यान दिएको पाइदैन । त्यसैले त उपभोक्तामा वन कार्यालय प्रतिको अझै विश्वास छैन, वन संरक्षणमा भूमीरमण नेपालप्रतिको विश्वास र भरोसा अझै कायम छ । वन कार्यालयले वन संरक्षणको केही योजना केही कार्यक्रम ल्यायो यदी भने पनि उपभोक्ताहरु भूमीरमण नेपालसँग त्यसको बारेमा सोधखोज गर्दैछन अझैपनि ।

अझैपनि गर्मि सिजन शुरु हुँदा म भूमीरमण नेपालको उत्साह र प्रेरणाको याद गर्छु । वन संरक्षणप्रति उहाले अझै गरिरहुनुभएको योगदानको याद गर्छु । संरक्षणको अभियानमा लागिरहनुभएका एक्ला भूमीरमणलाई साथ र सहकार्यको खाँचो देख्दछु । उहाँले आफ्नो ज्यान जोखिममा पारेर संरक्षण गर्नुभएको जिल्लाभरिका सामुदायिक वन जोगाउने अभिभारा अब भूमीरमणको मात्र होइन, सबै उपभोक्ताहरुको हुनुपर्छ । हरेक सामुदायिक वनले कम्तीमा पनि एक एक जना संरक्षणकर्मी उत्पादन गर्नुपर्छ । अनि मात्र हरियाली अभियानले सार्थकता पाउँछ ।

तस्बिरहरु सबै वन संरक्षणकर्मी भुमिरमण नेपालको फेसबुकबाट

यो समाचार सेयर गर्नुहोस्
सानुबाबु तिमिल्सिना लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।