“कक्षा १२ पास गर्नुपर्छ,” भन्ने वाक्यले हरेक विद्यार्थीको कानमा दिनरात गुन्जिन्छ। नेपालका धेरै किशोर-किशोरीका लागि कक्षा १२ मात्र एउटा शैक्षिक चरण होइन, यो एउटा सपना, जिम्मेवारी, र संघर्षको मार्ग हो। यो समय उनीहरूको जीवनमा सबैभन्दा चुनौतीपूर्ण समय हो, जहाँ उनीहरूलाई आफ्नो भविष्यप्रति मात्र होइन, परिवार र समाजको अपेक्षाप्रति पनि उत्तरदायी बन्नुपर्छ।
१२ मा अध्ययनरत विद्यार्थीहरूको जीवन बिहान पाँच बजे सुरु हुन्छ। बिहान पढाइ, दिउँसो कक्षा, बेलुका ट्युसन, अनि राति गृहकार्य र परीक्षा तयारीमा बित्छ। उनीहरूको दिन यसरी व्यस्त छ, मानौं उनीहरू रोबोट हुन्। यो समय उनीहरूले आफूलाई एक सेकेन्ड पनि फुर्सद नदिइकन आफ्नो भविष्य निर्माण गर्नका लागि होमिदिन्छन्।
उनीहरूको मनमा ठूला सपना हुन्छन्—डाक्टर, इन्जिनियर, पाइलट, वा अन्य प्रतिष्ठित करियर। नेपालमा अवसरको कमी र प्रतिस्पर्धा अत्यधिक बढेकाले, धेरै विद्यार्थी विदेश जानका लागि बाध्य छन्। आफूलाई आत्मनिर्भर बनाउनका लागि, र जीवनमा राम्रो अवसरको खोजीमा, विद्यार्थीहरू विदेशका विश्वविद्यालयमा अध्ययन गर्ने निर्णय लिन्छन्। तर, ती सपनाहरू पछाडि एउटा ठूलो संघर्ष लुकेको छ। “सपना पूरा गर्न पढाइमा केन्द्रित होऊ” भन्ने परिवारको दबाब, समाजको “सर्वोत्तम नतिजा ल्याउनु पर्छ” भन्ने अपेक्षा, र आफ्नै भविष्यप्रतिको डरले उनीहरूलाई लगातार पिरोलिरहन्छ।
विद्यार्थीहरूले कति बलिदान गरेका छन्, त्यो समाजले देख्दैन। उनीहरूले आफ्नो रुचिका विषयमा ध्यान दिन सकेका छैनन्। खेलकुद, संगीत, र सिर्जनात्मक कार्यहरू उनीहरूको जीवनबाट हराउँदै जान्छन्। आफ्ना साथीभाइसँग रमाइलो गर्ने समय उनीहरूले किताबहरूमा खर्च गर्छन्।
कति विद्यार्थीहरूले आर्थिक समस्याका कारण अध्ययनसँगै काम पनि गर्नुपर्छ। बिहान कलेज गएर, दिउँसो पार्ट-टाइम काम गरेर, अनि राति ढिलोसम्म पढेर उनीहरूले दिन कटाउँछन्। थकानको बाबजुद, “मैले राम्रो अंक ल्याएर आफ्नो परिवारको इज्जत राख्नुपर्छ” भन्ने सोचले उनीहरूलाई निरन्तर अगाडि बढ्न प्रेरित गर्छ।
कक्षा १२ का विद्यार्थीहरूको संघर्षमा सबैभन्दा गहिरो छाप परिवार र समाजको अपेक्षाले पार्छ। “तिमीले पास गरेर राम्रो नतिजा ल्यायौ भनेमात्र हाम्रो सपना पूरा हुनेछ” भन्ने परिवारको आशाले उनीहरूको मनमा डर उत्पन्न गर्छ। समाजले उनीहरूलाई केवल नतिजाका आधारमा मूल्याङ्कन गर्छ। “किन राम्रो अंक ल्याएनौ?” “तिमीले प्रयास गरेनौ कि के हो?” जस्ता प्रश्नहरूले उनीहरूको मनोविज्ञानमा गहिरो असर पार्छ।
धेरै विद्यार्थीहरूले आफ्नो पूर्ण प्रयास गर्दा पनि असफलताको सामना गर्नुपर्छ। परीक्षा नसकेको डरले उनीहरूलाई रातभरि निदाउन दिँदैन। के गर्ने, कहाँ जाने, के पढ्ने भन्ने भविष्यप्रतिको अन्योलताले उनीहरूलाई निराशा र एक्लोपनको भुमरीमा पार्छ।
कक्षा १२ का विद्यार्थीहरूको संघर्ष केवल नतिजाका लागि होइन। उनीहरूको सपना, प्रयास, र बलिदानलाई बुझ्न आवश्यक छ। परिवार र समाजले उनीहरूको मेहनतको कदर गर्दै उनीहरूलाई मानसिक रूपमा सहयोग गर्नुपर्छ। “नतिजा जे भए पनि तिमीले गरेको प्रयास महत्वपूर्ण छ” भन्ने भावनाले उनीहरूलाई आत्मविश्वास दिन सक्छ।
विद्यार्थीहरूको जीवन केवल अंकका लागि होइन। तिनका सपना, संघर्ष, र सम्भावना सबैले कदर गर्नुपर्छ।
– अस्मिता आचार्य
Facebook Comments