१२ पौष
इजरायल – तमू समाज इजरायलको ल्होसार तथा स्योकैं कार्यक्रममा इजरायलका लागि नेपालको आवासीय राजदुत प्रा.धनप्रसाद पण्डितको प्रमुख आतिथ्यता रहने भएको छ । नवनियुक्त राजदुत पण्डित केहि समयम अघि मात्र इजरायल आएका थिए । यसका साथै कार्यक्रममा नेपाल आदिवासि जनजाति महासंघ (नेफिन) इजरायलका अध्यक्ष मनु श्रेष्ठको विशिष्ट आतिथ्यता रहने तमू समाज इजरायलकी अध्यक्ष विन्दु तमुस्योले जानकारी दिनुभयो । यसका साथै कार्यक्रमको तयारी भइरहेको पनि जानकारी दिनुभयो ।

तमू समाज इजरायलले यहि जनवरी ३, २०२५ मा नेपाली तमू समुदायको महान तथा राष्ट्रिय पर्व तमू ल्होसार नयाँ वर्ष भव्य रुपमा मनाउने तयारी गरेको छ । यसका साथै (स्योकैं) कार्यक्रम पनि राखिएको छ । यस वर्ष (मुप्रि ल्हो) गिद्ध वर्गको विदाई तथा (सप्रि ल्हो ) सर्प वर्गको स्वागत गर्दै ल्होसार मनाउन लागिएको हो । हरेक वर्ष पौष १५ गतेबाट तमू गुरुङ समुदायको नयाँ वर्ष अर्थात वर्ग सुरु हुन्छ । ल्हो को अर्थ वर्ग र छार को अर्थ नयाँ भन्ने हो । नयाँ वर्गको स्वागत र पूरानो वर्गको बिदाईको अवसरमा यो पर्वलाइ विशेष र महत्वपूर्ण चाडको रुपमा तमू समुदायले मनाउने गर्दछन् ।
अघिल्लो वर्ष इजरायल र प्यालेष्टाइन समर्थीत हमासबीच जारी युद्धका कारण ल्होसार कार्यक्रम मनाउन सकेको थिएन । यस वर्ष भने युद्ध जारी रहेपनि वातावरण सहज र अनुकुल भएका कारण तमू समाज इजरायलले ल्होसार तथा स्योकैं कार्यक्रम मनाउने तयारी गरेको हो । यस वर्ष इजरायलको आधुनिक शहर तेलअभिवस्थित यादखरुचिम – १५ मा ल्होसार मनाउने तयारी गरेको हो । ल्होसार कार्यक्रममा शुभकामना आदान–प्रदान, (स्योकैं) वनभोज, तमू समुदायको मौलिक भाषा, संस्कार र संस्कृति झल्किने घाँटु, सोरठी, कौरा नृत्यको साथमा अन्य विविध सांस्कृतिक प्रस्तुतीहरु रहने तमू समाज इजरायले जनाएको छ । साथै ल्होसार कार्यक्रममा सहभागि भई कार्यक्रमलाइ भव्य रुपमा सफल बनाउन सहयोग गरिदिनुहुन इजरायलमा रहनुभएका दाजुभाई, दिदी बहिनीहरु लगाएत सबैलाइ तमू समाज इजरायलले अनुरोध गरेको छ ।

“प्ये म्यस्याँ छ्याँ म्हमु, छ्याँ म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात शास्त्र हराय संस्कार हराउछ, संस्कार हराय संस्कृति हराउछ ,संस्कृति हराय मानव जातिको अस्तित्व नै हराउँछ भन्ने ” भनाइलाइ आत्मसाथ गर्दै प्रवासी भूमी इजरायलमा रहेका तमू समुदायले सन् २००६ मा तमू समाज इजरायलको स्थापना गरेको थियो ।