१२ पौष
नेपाल तामाङ घेदुङ, इजरायलले मंजुश्री संवत २८६१, डुल / सा – पुख्रि ल्हो (सर्प वर्ग) कोे पावन अवसरमा सोनाम ल्होछार सांस्कृतिक साँझ २०२५ को आयोजना गरेको छ । बौद्व धर्मवालम्विहरुले मंजुश्री संवत २८६१, डुल ल्हो, सा पुख्रि ल्हो (सर्प वर्ग) लाई एक विशेष राष्ट्रिय पर्वको साथै मौलिक, ऐतिहासिक, पौराणिक, धार्मिक तथा सांस्कृतिक पर्वको रुपमा मनाउने गर्दछन् ।
आगामी १४ फेब्रुअरी २०२५, शुक्रबारका दिन साँझ ७ बजे याद्खारुचिम – १५ तेलअभिवमा सोनाम ल्होछार सांस्कृतिक साँझ २०२५ हुनेछ । कार्यक्रममा बौद्ध धर्म विधिद्धारा पुजापाठ, एक आपसमा शुभकामना आदान – प्रदान र स्थानीय कलाकारहरुको साथमा विविध सांस्कृतिक कार्यक्रम तय गरिएको नेपाल तामाङ घेदुङकी महासचिव डिका माया तामाङ (रञ्जना) ले जानकारी दिनुभयो । कार्यक्रममा तामाङ समुदायको मौलिक खानाको परिकार सहितको रात्रीकालिन भोजन पनि हुनेछ ।

“तामाङ भाषा, भेषभुषा, धर्म, कला, लिपि, संस्कार र संस्कृतिको प्रवद्र्धन र संरक्षण गरौं, ताम्सालिङ प्राप्तिको लागि एक जुट होऔं’’ भन्ने मुल नाराको साथ मनाउने सोनाम ल्होछार सांस्कृतिक साँझ २०२५ मनाउने तयारी गरेका छन् । कार्यक्रममा सहभागीताको लागि तामाङ घेदुङ इजरायलले इजरायलमा क्रियाशिल विभिन्न राजनीतिक, सामाजिक, धार्मिक संघ – संस्थाका प्रमुख तथा प्रतिनिधि, संचारकर्मी लगायत इजरायलमा रहेका सम्पुर्ण नेपाली र नेपाली भाषीहरुलाइ निमन्त्रणा गरिएको छ ।
इजरायललाइ आफ्नो कर्मभूमी बनाई विभिन्न पेशामा रहेका तामाङ समुदायले विशेष गरि तामाङ समुदायको राष्ट्रिय मौलिक धर्म, भाषा, लिपि, भेषभुषा, कला संस्कृति र परम्परालाइ संरक्षण एवं सम्वद्र्धन गर्ने उदेश्यले सन् २०१० मा यस संस्थाको स्थापना गरेका थिए ।
नेपाल तामाङ घेदुङ इजरायलले आफ्नो स्थापनाकालदेखि आफ्नो समुदाय र सिङ्गो आदिवासी जनजाति समुदायको आर्थिक, सामाजजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक र राजनैतिक अधिकार प्राप्तिका लागि विभिन्न किसिमका आर्थिक, सामाजिक र रचनात्क कार्यहरुका साथमा पैरवी र बहस गर्दै आएको छ ।