
दुबै मृगौला फेल भएर उपचार गराईरहनुभएका ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ काउले डांडाका याम बहादुर आचार्यलाई आर्थिक सहयोग जुट्न थालेको छ । मृगौला पिडित आचार्यको उपचारको लागि नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को काफलपानी र छाप गाउँका स्थानियहरुले आर्थिक सहयोग गरेको हो ।
स्थानियहरुबाट संकलन भएको ३४ हजार ३ सय ७० रुपैयाँ मृगौला पिडित आचार्यका आफन्तलाई हस्तान्तरण गरिएको छ । काफलपानी र छाप गाउँका स्थानियहरुले अभियान नै सञ्चालन गरेर सहयोग रकम संकलन गरेको नीलकण्ठ नगरपालिका ९ काफलपानीका नन्द बहादुर गुरुङले बताउनुभयो । एउटा छिमेकी गाउँलेलाई दुःख पर्दा अर्काे छिमेकी गाउँलेले सहयोग गर्नुपर्छ भन्ने भावना जागृत गराउन पनि अभियान संञ्चालन गरिएको नन्द बहादुर गुरुङले बताउनुभयो ।


‘शहरका घरहरु नजिक हुन्छन् तर मन टाढा हुन्छन्, हाम्रा घर गाउँ टाढा होलान् तर मन सँधै नजिक हुन्छ गाउँको सुन्दरता भनेको नै यहि हो, गुरुङले भन्नुभयो । ‘मर्दा पर्दा चाहिने भनेको नै हामी छर छिमेकीहरु नै हो, त्यसैले सबैले सहयोग गरौं, यो अभियानमा जुटौं, उहाँले भन्नुभयो– याम बहादुर दाईलाई परेको यो विपतमा सबैले हातेमालो गरौं ।’ बाँकी भएका घरहरुबाट सहयोग आउने क्रम जारी रहेको उहाँले बताउनुभयो ।
आर्थिक स्थिति कमजोर रहेका ५२ वर्षीय आचार्यको हाल काठमाडौंस्थित वीर अस्पतालमा उपचार भइरहेको छ । परिवार स्रोतका अनुसार उहाँको छोरा रञ्जन आचार्य पनि विगत ९ वर्षदेखि मिर्गौला फेल भई हाल पाटन अस्पतालमा उपचार गराइराख्नुभएको छ । सहयोग गर्न चाहने व्यक्तिले ग्लोबल आइएमई बैंकमा रहेको खाता नम्बर ००५०१३००१४६६३६०००००१ म सहयोग गर्न सकिने परिवारले बताएको छ ।