Ukraine’s President Volodymyr Zelenskyy, second left, speaks with European Council President Antonio Costa, center rear, during a round table meeting at the EU Summit in Brussels, Thursday, Dec. 18, 2025. (Stephanie Lecocq, Pool Photo via AP)

युरोपेली सङ्घ (ईयू) का नेताहरू युक्रेनलाई ९० अर्ब युरो ऋण उपलब्ध गराउन सहमत भएका छन् । ईयू नेताहरूले यो सम्झौताले आउँदो दुई वर्षका लागि युक्रेनको सैन्य र आर्थिक आवश्यकताहरू पूरा गर्ने बताएका बीबीसीले जनाएको छ ।

बेल्जियमको राजधानी ब्रसेल्समा भएको शिखर सम्मेलनमा भएको वार्तापछि यो निर्णय भएको हो । ईयू प्रमुख एन्टोनियो कोस्टाले युक्रेनका लागि ऋण युरोपेली सङ्घको साझा बजेटद्वारा ग्यारेन्टी गरिने सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ ।

यसअघि युरोपेली नेताहरूले युक्रेनसँगको युद्धका कारण फ्रिज गरिएका रुसी सम्पत्तिहरू प्रयोग गर्ने कि नगर्ने भन्नेबारेमा छलफल गरेका थिए । तर यो विषयमा भने सहमति हुन सकेन ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ईयू नेताहरूलाई २०० अर्ब युरो बराबरको जम्मा गरिएको रुसी सम्पत्ति प्रयोग गर्न अपील गर्नुभएको थियो ।

झन्डै चार वर्षदेखि चलिरहेको युद्धका कारण युक्रेनको अर्थतन्त्र अत्यन्तै दबावमा परेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२६ र २०२७ मा युक्रेनलाई झन्डै १ खर्ब ३७ अर्ब युरो आवश्यक पर्ने अनुमान सार्वजनिक गरिसकेको छ ।

युरोपमा प्रायः बेल्जियममा रहेको झन्डै २ खर्ब १० अर्ब युरो बराबरका रुसी सम्पत्तिहरू फ्रिज अवस्थामा रहेका छन् । तीमध्ये केही सम्पत्ति प्रयोग गरी युक्रेनलाई सहयोग गर्ने प्रस्ताव अघि सारिएको थियो । तर बेल्जियमले यसलाई कानूनी रूपमा जोखिमपूर्ण भन्दै आपत्ति जनाएपछि सहमति जुट्न सकेन ।

यसैबीच शान्ति योजनामा थप वार्ताका लागि अमेरिकी र रुसी अधिकारीहरू यस सप्ताहन्तमा मियामीमा भेट्ने तय भएको छ जसमा युक्रेनी र अमेरिकी प्रतिनिधिमण्डलहरूले पनि छुट्टाछुट्टै वार्ता गर्ने अपेक्षा छ ।

Facebook Comments