
मंसिर २३, धादिङ ।
धादिङको वेनीघाट रोराङ गाउँपालिका वडा नं. ७ चरौंदीको खेल मैदानमा “धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार” भन्ने मुल नाराका साथ मिंसिर १४ गतेदेखि सुरु भएको धादिङ कृषि, पर्यटन तथा औद्यागिक मेला २०७५ आज समापन गरिएको छ । मेलाको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्डले) गर्नुभएको थियो । समापन आज नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको छ । प्रमुख अतिथि नेता पौडेलले नेपाली कांग्रेसको नेतृत्वमा नेपालको संविद्यान निर्माण भएको र यसको सफल कार्यान्वनको लागि पनि नेपाली कांग्रेस सधै प्रतिवद्ध रहने बताउनुभयो । उहाँले अहिले कम्युनिष्ट सरकारको मुख्य दायित्व संविद्यानको कार्यान्वयनको साथै देशलाइ समृद्ध र सुखि नेपाली बनाउने भएको बताउनुभयो । विकास र समृद्धिको यात्रामा नेपाली कांग्रेस सदा अहिलेको सरकारसँगै रहने पनि बताउनुभयो । नेता पौडेलले एक फरक प्रसंगमा धर्म र संस्कृतिको नाममा विखण्डन निम्त्याउने कार्य नगर्न पनि सबैलाइ आग्रह गर्नुभयो ।


मेला तथा महोत्सव समापन समारोहमा धादिङ क्षेत्र नम्बर १ का संघिय सांसद भूमी त्रिपाठीको विशेष आतिथ्यता रहेको थियो । साथै प्रदेश सभाका सांसदहरु, पुर्व सभासदहरु, विभिन्न राजनैतिक दलका नेता, विभिन्न गाउँपालिका प्रमुखहरु र धादिङ उद्योग वाणिज्य संघका पदाधिकारी तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । धादिङ उद्योग वाणिज्य संघ दक्षिणी क्षेत्रिय समितिको आयोजना, बेनीघाट रोराङ गाउँपालिकाको सह–आयोजनामा मेला आयोजना गरिएको थियो । मेलाको प्रोवायोटेक इष्डष्ट्रिज प्रा.लि. र दुवाडि एग्रोभेट धादिङको मुख्य पायोजन रहेको थियो । साथै सह–प्रायोजकमा टिफर व्यावसायि संघ नेपाल र चरौंदि फलफुल तथा तरकारी सहकारी संस्था लि. रहेको थियो ।
“धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार” भन्ने मुल नाराका साथ सञ्चालन भएको मेलामा विशेष गरि कृषि प्रदर्शनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, चेपाङ समुदायको मौलिक कला र संस्कृतिको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी, हस्तकलाको प्रदर्शनी, जडिवुटी तथा वनपैदावारको प्रदर्शनी, खनिजजन्य उत्पादनको प्रदर्शनी मुख्य आकर्षणको रुपमा रहेको थियो । साथै महोत्सवमा दैनिक रुपमा चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँस्कृतिक प्रस्तुती पनि पनि रहेको थियो ।