फागुन १७, धादिङ ।

देशमा भएको प्रशस्त श्रोत र साधनको भर पुर प्रयोग गर्न सके देशले विकासको फड्को मार्ने सभामुख कृष्णबहादुर महराले बताउनु भएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं २, ताल्तीमा संचालन हुन लागेको ह्वासिन सिमेन्ट उद्योगको शिलान्यास गर्दै सभामुख महराले विदेशी लगानीलाई औद्योगिक क्षेत्रमा प्रोत्साहन गर्न सके विकासले गति लिने उहाँको भनाई छ ।

नेपाल श्रोत साधन अनि जनशक्तिको खानी भएर पनि औद्योगिक क्षेत्रमा पछि परेको सभामुख महराले बताउनुभयो । विकासका लागि लगानी चाहिन्छ । नेपालकै ठूलो प्रतिष्ठा बोकेको यस्ता सिमेन्ट उद्योगले देशकै पहिचान दिन सक्ने हुदा यस्ता क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहन गर्नु पर्ने बताउनुभयो । सुखी नेपाली समृद्ध नेपालको परिकल्पना पुरा गर्न यस्ता उद्योगले ठूलो सहयोग गर्ने उहाँको भनाइ छ ।

सरकारले चालेको समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सबै नेपालीले स्वागत गरेको र यसलाई सकारात्मक रुपमा हेर्न सबैलाई आग्रह गरेका छन् । यो अभियानको यात्रा कठिन भएपनि सबै नेपालीका लागि अति जरुरी रहेको बताउनुभयो । उद्योग शुरु हुनु भनेको विकासको बाटो खुल्नु हो । तर यस्ता विकासको कार्यमा सबैले हातेमालो गरी अघि बढ्नु पर्ने सभामुख महराले बताउनुभयो ।

नेपालमा सिमेन्ट उद्योगको सम्भावना रहेको बताउँदै सरकारको मापदण्डमा रहेर सञ्चालन गर्नु पर्ने बताए । सिमेण्ट उद्योगलाई आवश्यक कच्चा पदार्थ स्थानीय सामाग्रीको प्रयोग गर्न सके स्थानिय स्तरको विकासमा टेवा पुग्ने उहाँले बताउनुभयो । नेपालमा चिनियाँ लगानीकर्ताको आकर्षण वढाउने उद्धेश्यले प्रधानमन्त्री केपीशर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल सरकार र चिनियाँ सरकारबीच भएको द्धैपक्षिय सम्झौता अनुसार नेपालमा सिमेण्ट उद्योग स्थापना गर्न लगानी बोर्ड र चिनियाँ कम्पनी वीच सहमति भएको थियो ।

उक्त कम्पनी स्थापना गर्नका लागि १५ अर्ब बराबरको वैदेशिक लगानी नेपाल सरकारको तर्फबाट लगानी वोर्डले स्वीकृत गरिसकेको छ । सिमेन्ट उद्योग सञ्चालनमा आउँदासम्म प्रत्यक्ष रुपमा ३ सय जना र अप्रत्यक्ष रुपमा एक हजार जनाले रोजगारी पाउने पनि कम्पनीले जनाएको छ ।

Facebook Comments