वैशाख ५, धादिङ ।
पत्रकारलाई पक्राउ गरेर विद्यतुीय कारोबार ऐन लगाएको विरोधमा धादिङका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय अगाडी आज १ घण्टा धर्ना दिएका छन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको नेतृत्वमा ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेकाले यो दफा नै खारेज गर्न र पत्रकार अर्जुन गिरी लगायतका पत्रकारलाई रिहा गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय धादिङको गेटमा १ घण्टा धर्ना दिएका हुन् ।

पत्रकारलाई समाचार लेखेकै कारण पटक–पटक पक्राउ गर्ने क्रम बढेपछि आज देशभरका सबै जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिइएको पत्रकार महासंघले जनाएको छ । पत्रकारलाई विद्युतीय कारोबार ऐन दर्फा अन्तर्गत पटकपटक पक्राउ गरी निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेपछि आफुहरुले धर्ना कार्यक्रमको आयोजना गरेको नेपाल प्रत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुलिले जानकारी दिनुभयो ।

पत्रकार गिरि साधारण तारेखमा रिहा
पत्रकार अर्जुन गिरिको रिहाईको माग गर्दै देशभरका पत्रकारहरुले आन्दोलन गरेपछि पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा हुनुभएको छ ।

साइबर अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका गिरीलाई काठमाडौं जिल्ला अदालतमा जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले तारेखमा रिहा गर्ने आदेश दिएको हो । पोखराबाट प्रकाशित हुने ताण्डव साप्ताहिक तथा ताण्डव न्यूज डट कमका सम्पादक अर्जुन गिरीलाई व्यवसायी विपेन्द्रराज बतासका बारेमा समाचार लेखेको आरोपमा पक्राउ गरिएको थियो ।

उहाँलाई साइबर क्राइमअन्तर्गत पक्राउ गरिएको बताइएको थियो । तर एकजना व्यापारीको ठगीका बारेमा समाचार लेखेकै भरमा गिरीलाई पक्राउ गरिएको भन्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा देशैभर उहाको रिहाइको माग गर्दै प्रदर्शन भएको थियो ।

Facebook Comments