
भदौं २७ ।
मलेसियामा नयाँ कामदार जाने प्रक्रिया १५ महिनापछि सुरु गर्ने नेपाल र मलेसियाबीच सहमति भएको छ । गएको कात्तिक १२ मा भएको श्रम समझदारी कार्यान्वयन गर्ने सहमति भएसंगै मलेसियामा कामदार पठाउने प्रक्रिया सुरु भएको हो । गएको कात्तिक १२ गते दुइदेशविच भएको समझदारी अनुसार अब मलेसिया जान नेपाली कामदारले एक रुपैयाँ पनि खर्च गर्नुपर्दैन । अहिलेसम्म व्यवसायीले सेवा शुल्कबापत वैधानिकरुपमा १० हजारसम्म लिन पाउने व्यवस्था थियो ।
दुई देशबीच तत्काल नेपाल सरकारले सूचीकृत गरेका एक सय २२ मध्ये ३६ मेडिकललाई कामदारको स्वास्थ्य परीक्षणको मान्यता दिने सहमति भएको नेपाली टोलीको नेतृत्व गरेर छलफलमा सअहभागी श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले बताउनुभयो ।
नयाँ प्रस्ताव गरिएका ८६ स्वास्थ्य संस्थालाई स्वास्थ्य जाँचका लागि तत्काल अनुमती नदिने सहमति भएको छ । प्रस्ताव गरिएका नयाँ स्वास्थ्यसंस्थालाई मलेसियाले अगामी नोभेम्बर पहिलो हप्ताबाट वार्षिक अडिट प्रक्रियामा लैजाने छ ।
सहमति भएसँगै अब म्यानपावर कम्पनीले विदेशबाट कामदारको माग ल्याउन पाउने छन् भने व्यक्तिगत श्रम स्वीकृति लिएर पनि मलेसिया जान बाटो खुलेको छ ।