कार्तिक १५,धादिङ

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा खाली भएका विभिन्न पदहरुमा २०७६ मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । वडाध्यक्षदेखि संघीय संसद समेत गरी कुल ५२ पद रिक्त रहेको छ । उक्त रिक्त पद पूर्तिका लागि निर्वाचन आयोगले उपनिर्वाचन गराउन लागेको हो । जनप्रतिनिधीहरुको निधन नै पद रिक्त हुनुको मुख्य कारण हो । यो अवधिमा ४३ जना जनप्रतिनिधिको मृत्य भएको छ । नेकपाबाट सांसद बनेका तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते हेलिकोटर दुर्घटनामा निधन भएपछि प्रतिनिधिसभा अन्तर्गत कास्की क्षेत्र नम्बर २ को सांसद पद खाली छ । प्रदेशमा बाग्लुङ क्षेत्र नम्बर २ ख का सांसद टेकबहादुर घर्तीमगर, भक्तपुर क्षेत्र नम्बर १ क का सांसद हरिशरण लामिछाने र दाङ क्षेत्र नम्बर ३ ख का सांसद उत्तरकुमार ओलीको निधन भएसँगै प्रदेश सभाको तीन पद खाली छ । धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बाको निधन भएपछि उपमहानगर प्रमुखको पद खाली छ । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङ महोत्तरी पिपरा गाउँपालिकाका अध्यक्ष विनोद चौधरी, संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवालको निधन भएपछि पद रिक्त छ । त्यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाहीको पनि निधन भएको छ । पाँचथरमा गाउँपालिका अध्यक्षसहित तीन पद खाली छ । एकजना वडाध्यक्षले राजिनामा दिएका छन् ।
निर्वाचन आयोगले मंसिर १४ गतेका लागि उपनिर्वाचन मिति तोकेसँगै यो निर्वाचनमा कुल २ लाख ३३ हजार ४ सय २ महिला, कुल २ लाख २० हजार ७ सय १० पुरुष र अन्य दुई गरी जम्मा ४ लाख ५४ हजार १ सय १४ जना मतदाता रहेका छन् । यस उपनिर्वाचनमा कुल १०१ राजनीतिक दलले भाग लिनेछन् । जस अन्तर्गत ७५ दलले प्रतिनिधि सभा तथा प्रदेशसभामा र ७८ दलले स्थानीय तहमा भाग लिदैछन् । निर्वाचन कार्यतालिका अनुसार कार्तिक २१ गते प्रतिनिधिसभा र प्रदेश सभाको लागि र २७ गते स्थानीय तहको उम्मेदवारी दर्ता गर्नुपर्नेछ । यस पटक दाबी विरोधका लागि दुई दिनको समय तोकिएको छ ।