कात्तिक २८, धादिङ ।
शहर बजार, गाउँघर सबैतिर आगामी मंसिर १० गते हुन गईरहेको प्रदेश सभा तथा प्रतिनिधि सभाको चुनावी रौनकताले छाएको छ । आ-आफ्नो चुनावी चिन्ह लिएर उम्मेद्वारहरु मतदाताको घर आँगन पुगेका छन् । यतिखेर धादिङ पनि चुनावमय भएको छ । कहिल्यै गाउँमा नझुल्कनेहरु पनि हात जोड्दै मतदातालाई फकाउँदै हिडिरहेका छन् । मतदाताको आवश्यकतालाई परिपूर्ति गर्छु भन्दै आश्वासन दिएर क्षणिक हाँसो भने छर्न भ्याएका छन् । तर बेनिघाटरोराङ गाउपालिका वडा नम्वर ५ र ८ का अति विपन्न परिवारका १० जना चेपाङहरु भने गाउँमा आएका नेताहरुको आश्वासनमा भन्दा पनि आफ्नो नागरिकता बनेकोमा खुशी छन् ।

( नागरिकता पाएपछि सामुहिक तस्विर खिचाउँदै चेपाङहरु )
तस्विर: पुष्पा थपलिया
विभिन्न कारणले नागरिकता लिन नसकेका चेपाङहरुलाई यो खुशी दिलाएका हुन् फोकस नेपाल र अक्सफामको समूहले। अशिक्षाका कारण नागरिकता बनाउनुपर्छ भन्ने ज्ञान नै नभएका १० जना चेपाङको नागरिकता बनाउन सहयोग गरेको फोकश नेपालका लैङ्गिक अधिकृत पुष्पा थपलियाले बताउनुभयो ।
अहिले फोकस नेपाल र अक्सफामद्वारा संचालित भुकम्प प्रतिकार्यपरियोजना अन्तर्गत गाउगाउमा नागरिकता, व्यक्तिगत घटना दर्ता, एकला महिला सुरक्षा कोष आदिमा पहुज पु¥याउनका लागि सचेतना सम्बन्धी छलफल केन्द्रको स्थापना गरिएको छ । त्यही केन्द्रमार्फत संस्थाले चेपाङ समुदायलाई नागरिकता, जन्मदर्ता, मृत्युदर्तालगायतका व्यक्तिगत घटना दर्ताको महत्वका बारेमा जानकारी दिइ सचेतना फैलाउने काम गर्दै आएको थपलियाले बताउनुभयो । छलफल केन्द्रमार्फत नागरिकताको महत्वबारे जानकारी पाएपछि नागरिकता बनाउन इच्छा हुदाहुदै पनि विपन्नताका कारण नागरिकता लिन नसकेको चेपाङहरुले बताएका छन् ।