
१६ मंसिर,२०७६
सुनसरी चतरा धामका धर्मगुर्रु सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । विराटनगरस्थित विराट नर्सिङ होमको आइसीयूमा उपचाररत गिरीलाई आज विहान अस्पतालबाटै पक्राउ गरिएको हो । एक आफ्नै अनुयायी महिलाले कृष्णदासले आफूलाई बलात्कार गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो । प्रहरीले पक्राउ गर्नु अघि गिरिले महिलासँग कुराकानी गरेको टेलिफोनको अडियो सार्वजनिक भएको थियो । सुनसरीका डीएसपी विनोद शर्माका अनुसार आरोपित गिरीलाई पक्राउ गरि अनुसन्धान अघि बढाएको जनाएको छ । अब मुद्दा दायर हुने नहुने बारे टुंगो लाग्नेछ । यो विषय अदालतमा पुगेपछि अदालतले अन्तिम टुंगो लगाउन सक्नेछ । यता पक्राउ परेका सिद्धबाबा भनिने कृष्णदाश र सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले भने धर्म संस्कृति र अध्यात्मिक चिन्तनलाई कमजोर पार्ने उद्देश्यका साथ सुनियोजित रुपमा चरित्रहत्या गर्न खोजिएको भन्दै सरकार समक्ष घटनाको निष्पक्ष छानविन गरी निराधार आरोप लगाउने दोषीमाथि कारबाहीको माग समेत गरेको छ ।