
मोटरसाइकल दुर्घटनामा परि घाइते भएका राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर ललित सिंह भण्डारीको स्वास्थ्यमा सामान्य सुधार आएको छ । कोहलपुर मेडिकल कलेजमा भण्डारीको उपचार भईरहेको छ ।
भण्डारीको खुट्टा, कम्मर र टाउकोमा चोट लागेको छ। निसर्ग अस्पतालमा उनको टाउकोको चोटको सिटि स्क्यान सम्भव नहुँदा राती १२ बजे भण्डारीलाई नेपालगंज रेफर गरिएको हो ।
दुर्घटनामा घाइते भएका भण्डारीका भाइ नाता पर्ने करन ठगुन्नाको भने अवस्था सामान्य रहेको छ। मोटरसाइकल ललितले चलाएका थिए र करन पछाडी बसेका थिए।
कंचनपुरको झलारी बजारमा भएको दुर्घटनामा भण्डारी चढेको मोटरसाइकल ट्रकसंग ठोकिएको थियो। धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र भण्डारी चढेको म २ प ४७०५ नम्बरको मोटरसाइकल एकआपसमा जुधेको थियो। घटना पछि ट्रक चालक फरार रहेका छन्। ट्रक भने प्रहरीले नियन्त्रणमा लिएको छ।

२०१७ विश्व क्रिकेट लिग च्याम्पीयनसिपमा अमेरिका बिरुद्ध डेब्यु गरेका भण्डारीले २०१८ मा नेपालको लागि नेदरल्याण्ड बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्दै नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जितमा २ विकेट लिएका थिए।
त्यस अघि बायाँ हाते फास्ट बलरले २०१३ मा नेपाली यु-१९ राष्ट्रिय टिमको लागि डेब्यु गरेका थिए। यु-१९ डेब्युमा उनले पाकिस्तान बिरुद्ध २ विकेट लिएका थिए भने प्रतियोगितामा ३ खेलमा ५ विकेट लिएका थिए।
२०१८ अक्टोबरमा आईसीसी टि-२० विश्वकप छनौट ( एसिया बि ) प्रतियोगिता नेपालले जित्दा अन्तिम पटक राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका भण्डारी घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबबाट खेल्दै आएका छन्। पछिल्लो पटक उनले इनरुवामा आयोजित एमएम कप एकदिवसीय प्रतियोगिता खेलेका थिए।