
कालुपाण्डेमार्ग अन्र्तरगत धदिङको सिद्धलेक गाउँपालिका स्थित फिस्टार नजिक विहिबार राती पौने ९ बजे ट्याक्सी दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य ४ जना घाईते भएका छन् ।
दुर्घटनामा परि खनियावास गाउँपालिका वडा नम्बर ४ की ४५ वर्षिया विष्णुमाया तामाङको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा परि ट्याक्सी चालक नुवाकोट वेलडाँगी नगरपालिका वडा नम्बर १३ बस्ने ६० वर्षिय विरबहादुर तामाङ, खनियावस गाउँपालिका वडा नम्बर ४ का २० वर्षिय आषिस तामाङ, ३१ वर्षिय सरोज तामाङ र २५ वर्षिया सुत्केरी महिला सन्तुमाया तामाङ घाईते हुनुभएको छ ।
घाईते मध्ये ट्याक्सी चालकको राजमार्ग सामुदायिक अस्पतालमा सामान्य उपचार पछि शिक्षण अस्पताल काठमाण्डौं रेफर गरिएको र अन्य ३ जनाको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक लोकनाथ तिमिल्सीनाले जानकारी दिनुभयो ।
काठमाण्डौंबाट धादिङवेशीं तर्फ सुत्केरी बोकेर आउँदै गरेको बा १ ज १२६१ नम्बरको ट्याक्सी सडकबाट अन्दाजी ४० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक तिमिल्सीनाले जानकारी दिनुभयो ।
मृतक महिला सुत्केरीको आमा रहेको पनि उहाँले जानकारी दिनुभयो । गत साउन ५ गते पहिरो गएर साँघुरो बनेको सडक, बाहिरि जिल्लाको चालक र रातको समय भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।